एजेन्सी । यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र साउदी अरेबियामाथिका आक्रमण रोक्न साउदीले एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको दाबी सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा यस्तो प्रस्ताव गरिएको हो। यद्यपि, प्रस्तावित रकम हस्तान्तरण भएको वा प्रस्तावको आधिकारिक पुष्टि भएको छैन।
रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथी विद्रोहीसँग युद्धविरामबारे छलफल गर्न तेहरान पुगेका थिए। एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै उहाँ चढेको हर्क्युलस सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरिएको छ। तर, साउदी अधिकारीहरूले उक्त दाबी पुष्टि गरेका छैनन्।
वार्तामा टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन, पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असीम मुनीर र इरानका राष्ट्रपति मसुद पेजेस्कियानसहित विभिन्न देशका वरिष्ठ अधिकारी सहभागी रहेको बताइएको छ।
साउदी अरेबियाका विमानस्थल तथा तेलसम्बन्धी पूर्वाधारमाथि भइरहेका आक्रमणले आर्थिक क्षति पुर्याइरहेका बेला इरानले साउदी र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको रिपोर्टमा उल्लेख छ। हर्मुज जलघाँटीमा ट्यांकरमाथि भएका आक्रमणले खाडी क्षेत्रबाट हुने तेल निर्यातसमेत प्रभावित भएको जनाइएको छ।
साउदी विदेश मन्त्रालयका अनुसार रक्षामन्त्री तथा मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिहरूको तेहरान भ्रमणको उद्देश्य क्षेत्रीय तनाव कम गर्नु, संवाद र कूटनीतिक समाधानलाई प्रोत्साहन गर्नु तथा कतार र पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्नु थियो।
साउदी र हुथीबीचको विवाद तीन वर्षअघि भएको समझदारी कार्यान्वयनसँग पनि जोडिएको बताइएको छ। उक्त समझदारीअनुसार हुथी नियन्त्रित क्षेत्रमा सार्वजनिक कर्मचारीको तलब भुक्तानी तथा नागरिक पूर्वाधार पुनर्निर्माणका लागि साउदीले आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था थियो। त्यसको बदलामा हुथीहरूले युद्धविराम कायम राख्ने र साउदीमाथिका आक्रमण रोक्ने अपेक्षा गरिएको थियो।
तर, हुथीहरूले पछिल्ला महिनामा साउदीले पुरानो समझदारी कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका छन्। अर्कोतर्फ, साउदी पक्षले नयाँ युद्धविराममा सहमति र यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबाट कब्जा गरिएका क्षेत्र फिर्ता गर्ने विषयमा प्रगति नभएसम्म हुथीहरूलाई रकम उपलब्ध गराउने प्रस्तावप्रति असहमति जनाएको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
इरान, अमेरिका र इजरायलबीच क्षेत्रीय तनाव बढिरहेका बेला भएको यो वार्तालाई तेहरानले आफ्नो कूटनीतिक प्रभाव विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। रिपोर्टअनुसार पाकिस्तानका सेना प्रमुखको अघिल्लो भ्रमणका क्रममा अघि बढाइएको पहलले इरान र मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिबीच औपचारिक संवादको अवसर सिर्जना गरेको छ।
अमेरिका र इजरायलको सैन्य हस्तक्षेपको विरोध गर्दै आएको इरानले आफूलाई क्षेत्रीय कूटनीतिक मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको विश्लेषण पनि रिपोर्टमा गरिएको छ।
यद्यपि, हुथी विद्रोहीलाई एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरिएको र उक्त रकम तेहरान ल्याइएको भन्ने दुवै दाबीको स्वतन्त्र पुष्टि भएको छैन। त्यसैले वार्ताको वास्तविक प्रगति र प्रस्तावित आर्थिक सहयोगबारे थप आधिकारिक जानकारी आउन बाँकी छ।