विश्वकै पहिलो सुनको सडक दुबईमा खुल्दै, कहिले पुग्न पाइन्छ?

1.3k Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा २४ क्यारेट सुनबाट बनेको सडक खोल्ने तयारी गरिएको छ। दुबई गोल्ड डिस्ट्रिक्टले सन् २०२६ को अन्त्यअघि पर्यटकका लागि यो अनौठो आकर्षण खुला गर्ने घोषणा गरेको हो।

 

दुबई गोल्ड डिस्ट्रिक्टका वरिष्ठ निर्देशक राशिद अल हरमौदीका अनुसार यो सडक आगामी दुई महिनाभित्र सर्वसाधारणका लागि खुला गर्ने योजना छ। उनका अनुसार यो आफ्नो प्रकारको पहिलो र विश्वकै सबैभन्दा लामो सुनको सडक हुनेछ।

सडकको वास्तविक लम्बाइ, निर्माणमा प्रयोग हुने सुनको मात्रा र प्राविधिक संरचनाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन। त्यसैले सडक पूर्ण रूपमा ठोस सुनबाट निर्माण गरिने हो वा सुनको विशेष आवरणसहित तयार गरिने हो भन्ने विषय स्पष्ट हुन बाँकी छ।

 

पर्यटक आकर्षित गर्ने दुबईको नयाँ योजना

दुबईलाई विश्वकै प्रमुख सुन तथा गहना व्यापार केन्द्रका रूपमा स्थापित गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो परियोजना अघि बढाइएको हो। सुनको व्यापारका लागि विश्वभर परिचित दुबईमा यसले पर्यटकलाई फरक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

देइरास्थित दुबई गोल्ड डिस्ट्रिक्टमा सुन, गहना, बहुमूल्य पत्थर, अत्तर, सौन्दर्य सामग्री तथा विलासी घडीका एक हजारभन्दा बढी खुद्रा व्यवसायी आबद्ध छन्। सन् २०२६ को सुरुदेखि यस क्षेत्रमा सुनको थोक कारोबार गर्ने कार्यालयको सङ्ख्या २० प्रतिशत र सुन तथा गहना बिक्री गर्ने नयाँ पसलको सङ्ख्या १५ प्रतिशतले बढेको जनाइएको छ।

 

यस क्षेत्रमा मध्यपूर्वकै ठूलो सुन तथा गहना व्यापार प्रदर्शनी आयोजना गर्ने योजना पनि अघि बढाइएको छ। बढ्दो व्यावसायिक गतिविधिलाई ध्यानमा राख्दै थप कार्यालय र खुद्रा पसलका लागि पूर्वाधार विस्तार भइरहेको अधिकारीहरूले बताएका छन्।

१६ किलोभन्दा बढी तौलका सुनका झुम्काले बनाए विश्व कीर्तिमान

सुनको सडक निर्माणसम्बन्धी घोषणा दुबईमा १६.५१४ किलोग्राम तौलका सुनका झुम्काले दुईवटा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको अवसरमा गरिएको थियो।

जोयअलुक्कास ज्वेलर्सले परम्परागत भारतीय शैलीमा तयार पारेका ती झुम्का सबैभन्दा भारी सुनका झुम्का र विश्वकै सबैभन्दा ठूलो जोडी झुम्काका रूपमा रेकर्डमा दर्ता भएका हुन्। २२ क्यारेट सुनबाट बनाइएका ती झुम्कालाई ‘मयुरा सहस्र’ नाम दिइएको छ, जसको अर्थ ‘एक हजार मयूर’ हो।

ती झुम्का बिक्रीका लागि नराखी कलाकृतिका रूपमा दुबईमै स्थायी रूपमा प्रदर्शन गरिने जनाइएको छ।

दुबईमा सुनको सडक खुल्ने मिति नजिकिँदै गर्दा यसलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा हेरिएको छ। यद्यपि, सर्वसाधारणले कुन मितिदेखि त्यहाँ हिँड्न पाउनेछन् भन्ने निश्चित मिति र प्रवेशसम्बन्धी व्यवस्था सार्वजनिक हुन बाँकी छ।

सम्बन्धित समाचार