काठमाडौं । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै ‘ब्यालोन डी’ओर अफ अल टाइम’ (बीओएटी) को पहिलो संस्करण जितेका छन्। फुटबल समर्थकहरूको मतदानका आधारमा रोनाल्डोको सन् २००८ को प्रदर्शनलाई ब्यालोन डी’ओर जित्ने इतिहासकै उत्कृष्ट व्यक्तिगत सिजनका रूपमा छनोट गरिएको हो।
फ्रान्स फुटबलले ब्यालोन डी’ओर पुरस्कारको ७०औँ वार्षिकोत्सवका अवसरमा सुरु गरेको यस विशेष मतदानमा विगतमा कम्तीमा दुई पटक ब्यालोन डी’ओर जितेका खेलाडीका उत्कृष्ट सिजनमध्ये छनोट गरिएको थियो। परम्परागत ब्यालोन डी’ओरमा अन्तर्राष्ट्रिय पत्रकारहरूको मत निर्णायक हुने भए पनि यसपटक समर्थकहरूले मतदानमार्फत आफ्नो रोजाइ प्रस्तुत गरेका थिए।
रोनाल्डोले सन् २००७–०८ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दै सबै प्रतियोगितामा ४२ गोल गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले इंग्लिस प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
त्यही सिजनको प्रदर्शनका आधारमा रोनाल्डोले सन् २००८ मा आफ्नो करियरको पहिलो ब्यालोन डी’ओर जितेका थिए। पछि उनले सन् २०१३, २०१४, २०१६ र २०१७ मा पनि यो प्रतिष्ठित व्यक्तिगत पुरस्कार जित्दै कुल पाँच पटक ब्यालोन डी’ओर जित्ने खेलाडी बने।
मतदानमा मेस्सीको सन् २०१२ को प्रदर्शन दोस्रो स्थानमा रह्यो। मेस्सीले उक्त क्यालेन्डर वर्षमा क्लब र राष्ट्रिय टोलीबाट गरी ९१ गोल गरेका थिए। एक वर्षमा गरेको यो गोलसंख्या विश्व फुटबलको उल्लेखनीय कीर्तिमानमध्ये एक हो।
त्यस्तै, रोनाल्डोको सन् २०१७ को ब्यालोन डी’ओर जित्ने सिजन तेस्रो स्थानमा रह्यो भने मेस्सीको सन् २०२३ को प्रदर्शन चौथो स्थानमा आयो। उत्कृष्ट १० स्थानमा रोनाल्डो र मेस्सीका पाँच–पाँचवटा सिजन परेका छन्।
मतदानको नतिजाअनुसार उत्कृष्ट १० स्थानमा रहेका सिजनहरू यसप्रकार छन् :
१. क्रिस्टियानो रोनाल्डो — सन् २००८
२. लियोनल मेस्सी — सन् २०१२
३. क्रिस्टियानो रोनाल्डो — सन् २०१७
४. लियोनल मेस्सी — सन् २०२३
५. क्रिस्टियानो रोनाल्डो — सन् २०१६
६. क्रिस्टियानो रोनाल्डो — सन् २०१४
७. लियोनल मेस्सी — सन् २०१५
८. क्रिस्टियानो रोनाल्डो — सन् २०१३
९. लियोनल मेस्सी — सन् २०११
१०. लियोनल मेस्सी — सन् २००९।
यो मतदानले समग्र करियरमा को उत्कृष्ट भन्ने निर्णय गरेको नभई ब्यालोन डी’ओर जितेका सिजनमध्ये समर्थकहरूले कुन प्रदर्शनलाई उत्कृष्ट माने भन्ने देखाउँछ। रोनाल्डोको जितले आधुनिक फुटबलका यी दुई चर्चित खेलाडीबीचको प्रतिस्पर्धाबारे समर्थकहरूबीचको बहसलाई फेरि चर्चामा ल्याएको छ।