सोलुखुम्बु । सगरमाथा क्षेत्रको खुम्बु पासाङल्हामु गाउँपालिका–स्थित दिङ्बुचेमा भारी हिमपात भएको छ। लगातारको वर्षासँगै माथिल्लो हिमाली क्षेत्रमा बाक्लो हिउँ परेपछि स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा पर्यटकको जनजीवन प्रभावित भएको छ।
हिमपातका कारण दिङ्बुचे र आसपासका उच्च हिमाली क्षेत्र सेताम्य बनेका छन्। अत्यधिक चिसो र प्रतिकूल मौसमका कारण पर्यटकलाई आवतजावत गर्न कठिन भएको छ। पदयात्रा तथा हिमाली क्षेत्रमा हुने गतिविधिसमेत प्रभावित भएका छन्।
स्थानीय क्षेत्रका अनुसार दिङ्बुचेभन्दा माथिल्लो भूभागमा बाक्लो हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। मौसम खराब भएपछि पर्यटकहरू होटलभित्रै बस्न बाध्य भएका छन्।
पर्यटकलाई यात्रा नगर्न प्रशासनको आग्रह
मौसम प्रतिकूल बनेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पर्यटक तथा स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। हिमपातका कारण बाटो पहिचान गर्न कठिन हुने र पर्यटक हराउन सक्ने जोखिम रहेकाले अनावश्यक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार टोली तयारी अवस्थामा राखिएको छ। दिङ्बुचेमा रहेको अस्थायी प्रहरी पोस्टसँग निरन्तर सम्पर्क गरी पर्यटकहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ।
हिमपातले पर्यटन व्यवसायमा असर
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय याममा मौसम प्रतिकूल बनेपछि होटल, पर्यटन व्यवसायी तथा पदयात्रामा आएका पर्यटक प्रभावित भएका छन्। पर्यटकको चहलपहलले व्यस्त रहने नाम्चेबजारसमेत सुनसान बन्ने अवस्था आएको छ।
हिमपातले हिमाली क्षेत्रको सुन्दरता बढाए पनि दैनिक जनजीवन, आवतजावत र व्यवसाय सञ्चालनमा कठिनाइ थपिएको स्थानीयको भनाइ छ।
यसैबीच, मौसम पूर्वानुमानअनुसार उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले पर्यटक, पदयात्री र आरोहण टोलीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।