एनपीएलमा गीत–संगीतले थप्यो रौनक, चौका–छक्कासँगै दर्शकलाई नचाउँदै नेपाली धुन

1.2k Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको रोमाञ्चकता मैदानभित्रको खेलमा मात्र सीमित छैन। खेलसँगै मैदानमा गुञ्जिने गीत–संगीतले पनि दर्शकको उत्साह बढाउँदै प्रतियोगितालाई थप मनोरञ्जनात्मक बनाएको छ।

नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै जाँदा एनपीएलले खेलकुदसँगै मनोरञ्जन र सांस्कृतिक पहिचानलाई समेत जोड्न थालेको छ। ब्याट र बलको प्रतिस्पर्धा, चौका–छक्काको रोमाञ्च तथा दर्शकको हुटिङसँगै नेपाली गीत, आधुनिक संगीत र र्‍यापले मैदानको वातावरणलाई थप उत्साहपूर्ण बनाएको छ।

एनपीएलको तेस्रो संस्करणमा सहभागी आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहँदा मैदानमा बज्ने गीतहरू पनि दर्शकबीच चर्चाको विषय बनेका छन्। नेपाली आधुनिक, पप, र्‍याप तथा पुराना चलचित्रका लोकप्रिय गीतहरूले खेलको माहोललाई थप जीवन्त बनाएका छन्।

मैदानमा ‘झ्यालबाट हेर त्यही बाटो आउँछु’, ‘रुपै मोहनी’, ‘लाहानले झुरायो’ र ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’ जस्ता गीत गुञ्जिने गरेका छन्। त्यस्तै, चर्चित र्‍यापर भिटेनका ‘सिमसिमे पानी’, ‘डाँडा अहिले चिलमा छ’, ‘पैसा’, ‘गोर्खे खुकुरी’ र ‘नशालु तिम्रो हेराइले’ जस्ता गीतले दर्शकलाई झुमाएको छ।

‘छट्टा रुमाल’, ‘माया हो माया’ र ‘पानी पर्‍यो असिना झर्‍यो’ जस्ता लोकपप शैलीका गीतले नेपालीपन झल्काएका छन्। यसबाहेक भोजपुरी गीत ‘ललिपप लागेलु’ र अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘गङ्नम स्टाइल’को धुनसमेत मैदानमा सुनिने गरेको छ।

एलओडी क्लबले सम्हाल्दैछ सांगीतिक व्यवस्थापन

एनपीएलको यस संस्करणमा मैदानभित्रको सांगीतिक मनोरञ्जन व्यवस्थापनको जिम्मेवारी एलओडी क्लबले लिएको छ। मनोरञ्जन साझेदारका रूपमा रहेको क्लबले खेलको अवस्था र दर्शकको उत्साहअनुसार विभिन्न गीत तथा संगीत बजाउँदै आएको छ।

एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठका अनुसार मैदानको वातावरण, खेलको अवस्था र दर्शकको मनोभावलाई ध्यानमा राखेर गीत छनोट गरिन्छ।

उनका अनुसार कुन समयमा कस्तो गीत बजाउने भन्ने निर्णय एलओडीको डीजे टोलीले गर्छ। आयोजकको सुझाव र अनुरोधलाई समेत प्राथमिकता दिइने गरिएको छ। खेलको अनुशासन र निश्चित सीमाभित्र रहेर सांगीतिक प्रस्तुति सञ्चालन गरिने उनको भनाइ छ।

कुनै टोलीले राम्रो प्रदर्शन गर्दा वा जित हासिल गर्दा सम्बन्धित टोलीको एन्थम बजाइने गरिएको छ। यसले खेलाडी र समर्थकबीच भावनात्मक सम्बन्ध बलियो बनाउनुका साथै टोलीप्रतिको समर्थन अभिव्यक्त गर्ने अवसरसमेत प्रदान गरेको छ।

आठै टोलीका आफ्नै एन्थम

एनपीएललाई थप भव्य र मनोरञ्जनात्मक बनाउन आयोजक तथा प्रतियोगितामा सहभागी आठवटै टोलीले आफ्नै विशेष गीत अर्थात् एन्थम सार्वजनिक गरेका छन्।

एनपीएल आयोजकले दुईवटा आधिकारिक गीत सार्वजनिक गरेको छ। लक्ष्मण शर्माको शब्द रहेको ‘अल टिम्स एन्थम’ले आठवटै टोलीलाई समेटेको छ। ‘नेपालको खेल, नेपालको ट्रेन’ भन्ने नारासहित तयार गरिएको यस गीतले नेपाली क्रिकेटको बढ्दो लोकप्रियता र युवाको उत्साहलाई प्रस्तुत गरेको छ।

त्यस्तै, ‘मैदानै थर्काउँछ’ गीतले नेपाली मैदान, नेपाली गौरव र राष्ट्रिय पहिचानलाई सांगीतिक रूपमा जोड्ने प्रयास गरेको छ।

आठ टोलीका आफ्नै एन्थमले पनि आ–आफ्नो क्षेत्रको संस्कृति, पहिचान र गौरवलाई समेटेका छन्। कर्णाली याक्सको ‘आयो याक्स आयो’ गीतमा रारा ताल र कर्णालीको भौगोलिक तथा सांस्कृतिक विविधता प्रस्तुत गरिएको छ।

सुदूरपश्चिम रोयल्सको ‘सुदूरको बाघ आयो’ गीतमा खप्तड र शुक्लाफाँटाजस्ता पर्यटकीय क्षेत्रलाई समेटिएको छ। लुम्बिनी लायन्सको ‘गर्जन्छ लुम्बिनी’ गीतमा बुद्ध जन्मस्थल लुम्बिनी, पाल्पाको ढाका टोपी र गुल्मीको कफीलाई क्रिकेटसँग जोडिएको छ।

चितवन राइनोजको ‘हामी चितवनको राइनो’ र्‍याप गीतले चितवनको प्राकृतिक सुन्दरता र युवाको क्रिकेटप्रतिको उत्साहलाई प्रस्तुत गरेको छ। विराटनगर किङ्सको गीतले टोलीको साहस र जितप्रतिको चाहना झल्काएको छ।

त्यस्तै, जनकपुर बोल्ट्सको ‘मिथिलाको शान’ गीतले मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई समेटेको छ। पोखरा एभेन्जर्सको ‘शिलको झैँ उड, गण्डकीको शान’ गीतमा माछापुच्छ्रे र फेवातालसहित पोखराको सुन्दरता प्रस्तुत गरिएको छ।

काठमाडौं गोर्खाजको एन्थममा पशुपतिनाथ, स्वयम्भूनाथ र नेवारी संस्कृतिको झल्को दिँदै टोलीको एकता, साहस र जित्ने अठोटलाई समेटिएको छ।

खेल र संगीतको संयोजनले बढाउँदै क्रिकेटको आकर्षण

एनपीएलमा खेल र संगीतको संयोजनले क्रिकेटलाई केवल प्रतिस्पर्धामा सीमित नराखी उत्सवका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत नीरज खातीवडाका अनुसार क्रिकेटमा संगीतको भूमिका महत्त्वपूर्ण हुन्छ। राष्ट्रिय गानले देशप्रतिको भावना जगाएजस्तै टोलीका एन्थम र स्थानीय लोकगीतले खेलाडी तथा समर्थकबीच आत्मीयता बढाउने उनको भनाइ छ।

उनले खेलमा क्षेत्रीय पहिचान झल्काउने मैथिली गीत तथा स्थानीय बाजागाजालाई समेत प्राथमिकता दिन आयोजकसँग आग्रह गरिएको बताएका छन्।

स्थानीय संस्कृति, लोकप्रिय गीत र टोलीका आफ्नै एन्थमले दर्शकलाई आफ्नो क्षेत्र र टोलीसँग जोड्ने काम गरिरहेका छन्। यसले नेपाली क्रिकेटको व्यावसायिक विकाससँगै खेलकुदलाई मनोरञ्जन र सांस्कृतिक पहिचानको माध्यमका रूपमा स्थापित गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसरी एनपीएलमा ब्याट र बलको प्रतिस्पर्धासँगै गीत–संगीतको तालले पनि दर्शकलाई बाँधिरहेको छ। मैदानमा खेलाडीको प्रदर्शन र दर्शकदीर्घामा गुञ्जिने सांगीतिक धुनले प्रतियोगितालाई क्रिकेटसँगै मनोरञ्जनको साझा उत्सव बनाएको छ।

सम्बन्धित समाचार