काठमाडौं । जर्मनीका विभिन्न सहरमा युवाहरूले गरेको ‘जेनजी’ प्रदर्शन हिंसात्मक बनेको छ । शिक्षा क्षेत्रमा लगानी वृद्धि, महँगी नियन्त्रण, सामाजिक सेवामा बजेट कटौतीको विरोध तथा अनिवार्य सैन्य सेवाको व्यवस्था खारेज गर्न माग गर्दै शनिबार हजारौँ युवा सडकमा उत्रिएका थिए ।
‘Gen Z regelt’ नामक अभियान समूहको आयोजनामा जर्मनीका बर्लिन, फ्रान्कफर्ट, म्युनिखसहित ३४ सहरमा प्रदर्शन भएको थियो । दिनभर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझपख केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो ।
जर्मनीको आर्थिक केन्द्र मानिने फ्रान्कफर्टमा प्रदर्शनका क्रममा कम्तीमा दुईवटा पसल लुटिएको र अन्य केही पसलमा तोडफोड भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि ढुंगा, बोतल र पटाका प्रहार गरेका थिए । केही स्थानमा पेट्रोल बमसमेत प्रहार भएपछि प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहोरा प्रयोग गरेको थियो ।
फ्रान्कफर्टको मुख्य व्यापारिक क्षेत्रका केही सडक बन्द गरिएका थिए । प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास गरेको थियो । एउटा हतियार पसलको सिसा फुटाइएको घटनामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको र दुईवटा हतियार बरामद गरिएको जनाइएको छ ।
प्रदर्शनकारीले विद्यालय तथा विश्वविद्यालयको पूर्वाधार सुधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन तथा सामाजिक सेवामा कटौती नगर्न सरकारसँग माग गरेका छन् ।
त्यसैगरी युवामाथि बढ्दो आर्थिक भार, जीवनयापनको महँगी र अनिवार्य सैन्य सेवाको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
‘Gen Z regelt’ की प्रवक्ता लिना फ्रेडरिकले युद्ध र दबाबको सट्टा शान्ति तथा स्वतन्त्रताका पक्षमा आवाज उठाउन प्रदर्शन गरिएको बताएकी छन् । उनले शिक्षा र स्वास्थ्य प्रणालीलाई थप सहयोग गर्नुपर्ने तथा आर्थिक भार न्यायोचित रूपमा वितरण हुनुपर्ने माग पनि राखेकी छन् ।
प्रदर्शन आयोजकले देशभर करिब एक लाख ८२ हजार सहभागी हुने अनुमान गरेका थिए । तर प्रहरीका अनुसार फ्रान्कफर्ट, म्युनिख र बर्लिनमा मात्रै करिब १८ हजार प्रदर्शनकारी सहभागी भएका थिए । आयोजकको वेबसाइटमा उल्लेख गरिएको अनुमानभन्दा वास्तविक सहभागिता कम देखिएको हो ।
ह्याम्बर्गमा केही सडक अवरोधमा आगजनी भएको थियो भने कोलोनलगायतका सहरमा पनि प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको समाचारमा उल्लेख छ ।
जर्मनीका अधिकारीहरूले शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा अतिवादी समूहले घुसपैठ गरी हिंसा भड्काउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । हेस्से राज्यका आन्तरिक मामिलामन्त्री रोमन पोसेकले फ्रान्कफर्टमा भएको हिंसात्मक घटनाप्रति असन्तुष्टि जनाउँदै दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।
युरोपका विभिन्न देशमा युवाहरूले शिक्षा, रोजगारी, महँगी र सरकारी नीतिविरुद्ध प्रदर्शन गरिरहेका बेला जर्मनीमा भएको यो आन्दोलनले पनि युवा पुस्ताको असन्तुष्टि सार्वजनिक गरेको छ ।