काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) केवल क्रिकेट प्रतियोगितामा सीमित छैन, यसले देशका विभिन्न भूगोल, जातीय समुदाय र क्षेत्रीय पहिचानलाई एउटै मञ्चमा जोड्ने माध्यमका रूपमा आफूलाई स्थापित गर्दै गएको छ ।
पत्रकार महासंघ तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष धर्मेन्द्र झाले आफ्नो विचार लेखमार्फत एनपीएलले नेपाली समाजमा राष्ट्रिय एकता र सामाजिक सद्भावको भावना बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्लेषण गरेका छन् ।
उनका अनुसार एनपीएलमा एउटा प्रदेशका खेलाडी अर्को प्रदेश वा सहरको टोलीबाट खेलिरहेका छन् । खेलाडीको जन्मस्थान वा क्षेत्रभन्दा उनीहरूको प्रदर्शनलाई आधार बनाएर दर्शकले समर्थन गर्नु नेपाली क्रिकेटको सकारात्मक पक्ष बनेको छ ।
एनपीएलको तेस्रो संस्करणका खेललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै झाले मधेसका गुल्सन कर्णाली याक्सबाट खेल्दा जनकपुरका खेलाडीलाई आउट गरे पनि दर्शकदीर्घामा रहेका राजविराजका दर्शकले उनको प्रदर्शनको प्रशंसा गरेको प्रसंग उल्लेख गरेका छन् ।
त्यस्तै, गुल्सनले विराटनगर किङ्ग्सविरुद्ध कर्णालीका लागि २१ बलमा अविजित २८ रन बनाउँदै टोलीलाई जिताउन महत्त्वपूर्ण योगदान गर्दा त्रिवि क्रिकेट मैदानमा दर्शकले उनको खुलेर प्रशंसा गरेका थिए ।
सुदूरपश्चिमका लोकेश बमले विराटनगरका लागि खेल्दै कर्णालीविरुद्ध नौ छक्का र तीन चौकासहित ८७ रन बनाउनु पनि क्षेत्रीय सीमाभन्दा माथि उठेर खेलाडीको प्रदर्शनलाई स्वीकार गरिएको उदाहरणका रूपमा लेखमा उल्लेख छ ।
त्यसैगरी सुदूरपश्चिमका आदित्य महता जनकपुरबाट खेल्नु र मधेसका आरिफ शेखलाई सुदूरपश्चिमले आफ्नै खेलाडीसरह स्वीकार गर्नुले पनि क्रिकेटले क्षेत्रीय दूरी घटाउन सहयोग गरेको लेखकको विश्लेषण छ ।
झाका अनुसार विगतमा क्रिकेटलाई विदेशी खेलका रूपमा हेरिने गरे पनि नेपाली खेलाडीको संघर्ष र सफलतासँगै यसले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । अहिले नेपाली क्रिकेटप्रतिको आकर्षण देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली समुदायसम्म विस्तार भएको छ ।
उनले क्रिकेटले जात, धर्म, वर्ग र क्षेत्रका आधारमा मानिसलाई विभाजित नगरी एउटै खेलप्रतिको उत्साहमा जोड्ने गरेको बताएका छन् । मैदानमा चौका, छक्का वा विकेट हुँदा दर्शकले गर्ने उत्सवमा क्षेत्रीय तथा सामाजिक विभेद गौण बन्ने उनको तर्क छ ।
लेखमा दक्षिण एसियाका भारत, पाकिस्तान र श्रीलंकाजस्ता देशमा क्रिकेट राष्ट्रिय पहिचानसँग जोडिएको उदाहरण दिँदै नेपालमा पनि क्रिकेट राष्ट्रिय एकताको बलियो प्रतीकका रूपमा विकास भइरहेको उल्लेख गरिएको छ ।
लेखकले राष्ट्र निर्माणका लागि भौगोलिक, सामाजिक, सांस्कृतिक र भाषिक विविधतालाई स्वीकार गर्दै सबै समुदायमा अपनत्वको भावना विकास गर्नुपर्ने बताएका छन् ।
एनपीएलजस्ता प्रतियोगिताले स्थानीय पहिचान र राष्ट्रिय भावनालाई एकैसाथ अघि बढाउन सहयोग गर्ने उनको धारणा छ । कुनै क्षेत्रको खेलाडीले अर्को क्षेत्रको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दा सम्बन्धित क्षेत्रका दर्शकले पनि खुसी व्यक्त गर्नु सामाजिक सद्भावको सकारात्मक संकेत भएको लेखमा उल्लेख छ ।
उनका अनुसार क्रिकेटले देखाएको समावेशी अभ्यासलाई राज्यका अन्य क्षेत्रमा पनि विस्तार गर्न सके राष्ट्रिय एकता र राष्ट्र निर्माणको प्रक्रियालाई थप बलियो बनाउन सकिन्छ ।
यसरी एनपीएल केवल खेल जित्ने र हार्ने प्रतिस्पर्धा नभई फरक भूगोल, समुदाय र पहिचानका नेपालीलाई एउटै साझा मञ्चमा जोड्ने अवसरका रूपमा अघि बढिरहेको लेखक झाको निष्कर्ष छ ।