६.३ अर्ब डलरको क्रिप्टो चोरीपछि बाइनान्सले खोल्यो निकासी सुविधा, ९५ प्रतिशत रकमको व्यवस्था

1.3k Shares

काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ह्याकिङबाट चोरी भएको करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्तिमध्ये ९५ प्रतिशतको व्यवस्था गरेपछि प्रयोगकर्ताका लागि रकम झिक्ने सुविधा पुनः सञ्चालन गर्ने भएको छ।

कम्पनीले नोभेम्बर १ (आज) देखि चरणबद्ध रूपमा क्रिप्टोकरेन्सी निकासी सेवा खुला गर्ने जनाएको छ। पहिलो चरणमा बिटक्वाइन, इथेरियम, बीएनबी, सोलाना, एक्सआरपी र डजक्वाइनलगायतका डिजिटल सम्पत्तिको निकासी सुविधा उपलब्ध गराइनेछ।

बाइनान्सका अनुसार चोरी भएको रकममध्ये करिब ६ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति कम्पनीले आफ्नै स्रोतबाट खरिद गरी प्रतिस्थापन गरेको छ। बाँकी ५ प्रतिशत रकम कम तरलता भएका क्रिप्टोकरेन्सीमा रहेकाले आवश्यक परिमाण जुटाउन थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ।

ह्याकिङको घटनापछि प्रयोगकर्ताको रकम सुरक्षित राख्ने उद्देश्यले बाइनान्सले क्रिप्टोकरेन्सी निकासी सेवा अस्थायी रूपमा बन्द गरेको थियो। यस अवधिमा कम्पनीले सुरक्षा परीक्षण, प्रभावित सेवाको मूल्याङ्कन तथा चोरी भएका सम्पत्ति पहिचान र पुनःप्राप्तिको काम अघि बढाएको जनाएको छ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त साइबर आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको जनाएको छ। अनुसन्धानकर्ताका अनुसार समूहका सदस्यहरूले चोरी भएको डिजिटल सम्पत्तिलाई इथेरियममा रूपान्तरण गरेको पाइएको छ।

एफबीआईले चोरी भएको रकम अन्य प्रविधिको प्रयोग गरी थप अवैध कारोबारमार्फत लुकाउने प्रयास हुन सक्ने चेतावनीसमेत दिएको छ।

बाइनान्सले भने ह्याकिङबाट भएको आर्थिक क्षति प्रयोगकर्तामाथि नथोपर्ने स्पष्ट पारेको छ। कम्पनीले आफ्नै कोष, प्रयोगकर्ता सुरक्षा कोष (SAFU) तथा अन्य वित्तीय स्रोत प्रयोग गरी प्रभावित रकमको व्यवस्था गरिरहेको जनाएको छ।

निकासी सेवा पुनः सञ्चालन भए पनि सबै क्रिप्टोकरेन्सी तथा नेटवर्क एकैपटक उपलब्ध नहुने कम्पनीले जनाएको छ। सुरक्षा परीक्षण र प्राविधिक तयारी पूरा हुँदै जाँदा थप डिजिटल सम्पत्तिको निकासी सुविधा क्रमशः खुला गरिनेछ।

बाइनान्सका अनुसार यो पुनः सञ्चालन प्रक्रिया प्रयोगकर्ताको सम्पत्ति सुरक्षा र प्लेटफर्मको स्थिरतालाई प्राथमिकता दिएर अघि बढाइनेछ।

सम्बन्धित समाचार