काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटनका विविध सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् ।
उनीहरूले नेपालका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन र बर्दियाको भ्रमण गरी त्यहाँका प्राकृतिक तथा सांस्कृतिक आकर्षण, स्थानीय जीवनशैली, वन्यजन्तु र साहसिक पर्यटनसम्बन्धी भिडियो तथा डिजिटल सामग्री तयार पार्नेछन् । ती सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याइनेछ ।
भ्रमणमा सहभागी कन्टेन्ट क्रिएटरले आफूले भ्रमण गर्ने गन्तव्यअनुसार फरक–फरक विषयमा सामग्री तयार पार्नेछन् ।
बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कासुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् ।
त्यस्तै, फ्रान्सका जेरेमी ब्युडेटले चितवन पुगेर वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटनका अनुभवलाई समेट्नेछन् ।
पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई भिडियोमार्फत प्रस्तुत गर्नेछन् ।
यूएई र ट्युनिसियाका तीन जना कन्टेन्ट क्रिएटर फ्लाई दुबईको विमानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
उनीहरूलाई नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीकी अध्यक्ष सङ्गीता पौडेललगायतले स्वागत गरेका थिए ।
अन्य कन्टेन्ट क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन बोर्डका अधिकारीहरूले स्वागत गरेका थिए ।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपेरियन्सेस’ अभियानमार्फत नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।
यस अभियानलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन् ।
पछिल्लो समय डिजिटल माध्यमबाट गरिने पर्यटन प्रवर्द्धन प्रभावकारी बन्दै गएको छ । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय टिकटकजस्ता प्लेटफर्ममा सार्वजनिक हुने छोटा भिडियो र यात्राका वास्तविक अनुभवले नयाँ पर्यटकीय गन्तव्यबारे जानकारी विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालका पर्यटकीय गन्तव्यको दृश्य, संस्कृति, खानपान, आतिथ्य सेवा र स्थानीय जीवनशैलीलाई विदेशी कन्टेन्ट क्रिएटरमार्फत प्रस्तुत गर्दा अन्तर्राष्ट्रिय दर्शकमाझ नेपालको पहिचान थप विस्तार हुने पर्यटन बोर्डको विश्वास छ ।
यस अभियानले पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय पर्यटन व्यवसाय, होमस्टे तथा समुदायमा आधारित पर्यटन गतिविधिलाई समेत अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।