विवादै विवादबीच सुदूरपश्चिम र विराटनगरको खेल, अन्ततः ५ ओभरमा प्रतिस्पर्धा

1.2k Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षा, भिजेको मैदान र खेलाडीबीचको असहमतिका कारण लामो समय अन्योलमा परेको थियो । अन्ततः दुवै टोलीबीच पाँच–पाँच ओभरको खेल सञ्चालन भयो, जसमा विराटनगर किंग्सले सुदूरपश्चिमलाई ३५ रनले पराजित गर्‍यो ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तय भएको खेल वर्षाका कारण निर्धारित समयमा सुरु हुन सकेन । मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्न ग्राउन्ड स्टाफले लामो समय मेहनत गर्नुपरेको थियो । अम्पायरले मैदान निरीक्षण गरेपछि खेल पाँच ओभरमा सीमित गर्ने निर्णय गरेका थिए ।

 

भिजेको मैदानलाई लिएर सुदूरपश्चिमको असहमति

अम्पायरले साँझ ७ः२५ बजे टस र ७ः४१ बजे खेल सुरु गर्ने समय निर्धारण गरेका थिए । तर विराटनगरका कप्तान सन्दीप लामिछाने टसका लागि मैदानमा पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उपस्थित भएनन् ।

भिजेको आउटफिल्डमा खेल्दा खेलाडीको सुरक्षामा जोखिम हुन सक्ने भन्दै सुदूरपश्चिमले असहमति जनाएको थियो । त्यसपछि कप्तान ऐरी, मुख्य प्रशिक्षक मिसबाह उल हक, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच लामो छलफल भएको थियो ।

छलफलबाट तत्काल सहमति नजुटेपछि सुदूरपश्चिमका खेलाडी मैदान छाडेर ड्रेसिङ रुमतर्फ गएका थिए । विराटनगरका खेलाडी भने खेल्न तयार भएर मैदानमै बसेका थिए ।

 

लामो छलफलपछि खेल सञ्चालन

खेल हुने वा नहुने भन्ने विषयमा लामो समय अन्योल कायम रहेपछि राति करिब ९ बजे टस भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

वर्षाका कारण मैदानको अवस्था प्रभावित भएकाले खेल पाँच ओभरमा सीमित गरिएको थियो । छोटो खेलका लागि मैदानको बाउन्ड्रीसमेत सामान्यभन्दा छोटो बनाइएको थियो ।

 

विराटनगरको आक्रामक ब्याटिङ, १०५ रन

पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।

विराटनगरका शेहान जयसूर्याले १० बलमा ३९ रन बनाए भने आन्द्रे रसेलले ११ बलमा अविजित २९ रन जोडे । लोकेश बमले पनि १० बलमा २० रन बनाएर टोलीको स्कोर बढाउन योगदान दिए ।

विराटनगरले पहिलो दुई ओभरमै ६० रन जोड्दै आक्रामक सुरुवात गरेको थियो ।

 

सुदूरपश्चिम ७० रनमै समेटियो

१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । विराटनगरका बलर आन्द्रे रसेलले सुरुवातमै शेरफेन रदरफोर्डलाई पहिलो बलमै बोल्ड गर्दै टोलीलाई सफलता दिलाए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी पनि दुई रनमा आउट भए । विराटनगरका आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङमा प्रभावशाली प्रदर्शन गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेले ।

यससँगै विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो र दुई अंक जोड्यो ।

 

मैदानको अवस्थाबारे पुनः बहस

वर्षाका कारण एउटै दिन त्रिवि मैदानमा खेल सञ्चालन गर्न कठिनाइ भएपछि एनपीएलको खेल तालिका र मैदानको पानी निकास व्यवस्थापनबारे पनि प्रश्न उठेको छ ।

खेलाडीको सुरक्षा, मैदानको अवस्था र खेल सञ्चालनसम्बन्धी निर्णयमा देखिएको विवादले प्रतियोगिता व्यवस्थापनलाई थप चुनौती दिएको छ । लामो छलफलपछि खेल सम्पन्न भए पनि उक्त घटनाले त्रिवि क्रिकेट मैदानको ड्रेनेज प्रणाली र वर्षायाममा खेल सञ्चालनको तयारीबारे बहस सिर्जना गरेको छ ।

सम्बन्धित समाचार