काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्य मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य देखिएको छ । सन् २०२६ को अक्टोबरसम्म मनाङ भ्रमण गर्ने भारतीय पर्यटकको संख्या पाँच हजार ४९ पुगेको छ ।
अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् । तीमध्ये १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० जना रहेका छन् ।
पर्यटक आगमनका आधारमा भारत पहिलो स्थानमा रहेको छ । त्यस्तै इजरायलबाट दुई हजार ७६८, जर्मनीबाट एक हजार ९४८, चीनबाट एक हजार ८९९ र फ्रान्सबाट एक हजार ३४ पर्यटक मनाङ पुगेका छन् ।
आयोजनाका अनुसार अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन् । सार्क राष्ट्रबाट पाँच हजार ९० र अन्य देशबाट २५ हजार ५७२ पर्यटक मनाङ पुगेका हुन् ।
अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसम सिर्जना भए पनि पर्यटकको आगमनमा उल्लेख्य कमी नआएको प्रमुख भुजेलले बताएका छन् । जोखिमपूर्ण अवस्थाका बाबजुद पर्यटकहरू मनाङको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको अवलोकनका लागि पुगेका थिए ।
मनाङमा पर्यटक आकर्षित हुनुको प्रमुख कारण अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल तथा हिमाल आरोहण रहेको छ । विश्वकै अग्लो स्थानमा रहेका तालमध्ये एक तिलिचो ताल अवलोकन गर्न तथा हिमलुङ र मनास्लु हिमाल आरोहणका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् ।
अन्नपूर्ण पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लालाई जोडेको छ । पर्यटकले लमजुङको बेँसीसहरबाट यात्रा सुरु गरी मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ र पोखरासम्मको यात्रा गर्ने गरेका छन् ।
पछिल्लो समय सवारीसाधनमार्फत चामे र खाङ्सारसम्म पुग्न सकिने भएपछि पदयात्रामा आउने पर्यटकलाई थप सहज भएको छ । हिमाली दृश्य, स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सुन्दरताका कारण मनाङ अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।