लामो समयको उडान अवरोध हट्यो, अनुकूल मौसमसँगै रेसुङ्गामा जहाज आउन थाल्यो

1.2k Shares

गुल्मी। प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई सेवा पुनः सञ्चालनमा आएको छ। मंगलबार बिहान मौसम अनुकूल भएसँगै नेपाल एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान गरेको हो।

नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत २४ जेठदेखि बिहानको समयमा मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको थियो। वर्षायाम सुरु भएसँगै बिहान बाक्लो बादल लाग्ने र मौसम खराब हुने क्रम बढेपछि निर्धारित तालिकाअनुसार उडान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए।

थापाका अनुसार वर्षायाममा मौसम प्रतिकूल हुँदा रेसुङ्गा विमानस्थलको उडान हरेक वर्ष प्रभावित हुने गरेको छ। सामान्यतया करिब अढाइ महिनासम्म उडान प्रभावित हुने गरे पनि यस वर्ष भने लामो समयसम्म नियमित सेवा अवरुद्ध भएको हो।

सातामा तीन दिन काठमाडौं उडान

यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन नियमित उडान गर्दै आएको छ। आइतबार, मंगलबार र शुक्रबार उडान सञ्चालन हुने तालिका रहेको छ।

नियमित उडान पुनः सुरु भएसँगै गुल्मीबाट काठमाडौं जाने र काठमाडौं हुँदै गुल्मी आउने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी सडकमार्गबाट लामो यात्रा गर्नुपर्ने यात्रुका लागि हवाई सेवा महत्वपूर्ण विकल्पका रूपमा रहेको छ।

मौसममा थप प्रतिकूलता नआए निर्धारित तालिकाअनुसार उडान सञ्चालन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार