३० लाख निक्षेपकर्ताको बचत रोकिएपछि पाराग्वेका राष्ट्रपतिमाथि महाभियोगको दबाब

932 Shares

असुनसियोन । बैङ्किङ क्षेत्रमा देखिएको गम्भीर सङ्कट र लाखौँ निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोशका बीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनुभएको छ। तर संसद्बाट राजीनामा स्वीकृत नभएकाले उहाँ तत्काल पदमै रहनुभएको छ।

पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि राष्ट्रपति पेनासँग सम्बन्धित युएनो बैङ्कलाई नियन्त्रणमा लिएपछि वित्तीय क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको हो। बैङ्कको उक्त कदमपछि करिब ३० लाख निक्षेपकर्ता आफ्नो बचत रकम निकाल्नबाट वञ्चित भएका छन्। प्रभावित हुनेमा पेन्सनभोगीसमेत रहेका छन्।

बैङ्किङ समस्याले सर्वसाधारणको दैनिक जीवन प्रभावित भएपछि राजधानी असुनसियोनमा सरकारविरुद्ध प्रदर्शन चर्किएको छ। हजारौँ नागरिक संसद् भवनबाहिर भेला भएर आफ्नो बचत रकम तत्काल फिर्ता गर्न माग गरिरहेका छन्।

यसअघि प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

यस घटनासँगै राष्ट्रपति पेनामाथि स्वार्थको द्वन्द्व र पदको दुरुपयोग गरेको आरोप लागेको छ। यही विषयलाई लिएर सांसदहरूले उहाँविरुद्ध सर्वसम्मत रूपमा महाभियोग प्रक्रिया अघि बढाएका छन्।

राष्ट्रपति पेनाले सामाजिक सञ्जालमार्फत जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ।

विवाद समाधान गर्ने प्रयासस्वरूप केन्द्रीय बैङ्कका अध्यक्ष कार्लोस कार्भालोले राजीनामा दिनुभएको छ। साथै निक्षेपकर्ताको रकम फिर्ता गर्न पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश कम हुन सकेको छैन।

संसद्ले शुक्रबारदेखि राष्ट्रपतिविरुद्धको महाभियोग सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको छ। महाभियोगबाट राष्ट्रपति पद रिक्त भए उपराष्ट्रपति पेड्रो एलियानाले नेतृत्व सम्हाल्ने व्यवस्था रहेको छ।

बैङ्किङ सङ्कटले आर्थिक क्षेत्रसँगै राजनीतिक नेतृत्वसमेत संकटमा परेपछि पाराग्वेको पछिल्लो घटनाक्रम अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

सम्बन्धित समाचार