सरकारको धम्कीबाट विचलित हुन्नः गगन थापा

106 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले राज्यका अनुसन्धान तथा सुरक्षा निकायको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएका छन्। सरकारका गलत कदममाथि प्रश्न उठाउने र आलोचना गर्नेहरूलाई डर, त्रास तथा दबाबमा पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले यस्ता धम्कीबाट आफू विचलित नहुने स्पष्ट पारेका छन्।

मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको बताए। पक्राउ गर्न आउने हो भने हतकडीसहित आउन चुनौती दिँदै उनले सत्ताको दबाब र धम्कीका कारण नेपाली कांग्रेस आफ्नो राजनीतिक चरित्र तथा आलोचनात्मक भूमिका कमजोर पार्ने पक्षमा नरहेको स्पष्ट पारे।

राजाको शासनकालमा समेत आफूले राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले माओवादी सशस्त्र द्वन्द्वकालदेखि विभिन्न शक्तिशाली सरकारका पालासम्म निरन्तर सत्ताका गतिविधिमाथि प्रश्न उठाउँदै आएको बताए। सत्तालाई प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपरे पनि आफू आफ्नो भूमिकाबाट पछि नहट्ने उनको भनाइ थियो।

थापाले दोषीमाथि प्रचलित कानुनअनुसार निष्पक्ष अनुसन्धान गरी कारबाही अघि बढाउनुपर्नेमा कांग्रेसको पूर्ण समर्थन रहने बताए। तर, सत्तासँग निकट भएकै आधारमा कसैले उन्मुक्ति पाउने र राजनीतिक प्रतिपक्षीलाई मात्रै अनुसन्धान तथा कारबाहीको निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनको चेतावनी थियो।

विगतमा शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वका सरकारका पालामा पनि सत्ता निकट भएकै आधारमा कसैले कानुनी उन्मुक्ति पाउनु हुँदैन भन्ने कांग्रेसको स्पष्ट धारणा रहेको उनले स्मरण गराए। अहिले पनि प्रधानमन्त्री बालेन साह वा राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकटता भएकै आधारमा कसैले कानुनी दायराबाट बाहिर रहने छुट पाउन नहुने उनको भनाइ थियो।

राज्यका अनुसन्धान निकायले गर्ने कानुनी प्रक्रियामा कांग्रेसले कुनै अवरोध नगर्ने स्पष्ट पार्दै थापाले अनुसन्धान निष्पक्ष, पारदर्शी, कानुनसम्मत र राजनीतिक पूर्वाग्रहरहित हुनुपर्नेमा जोड दिए। अनुसन्धानका नाममा प्रतिपक्षी दललाई दबाबमा राख्ने वा राजनीतिक रूपमा कमजोर बनाउने उद्देश्यले राज्यका संयन्त्र परिचालन गरिए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने उनले बताए।

सरकारका सकारात्मक काममा सहयोग गर्ने र गलत निर्णय तथा गतिविधिमाथि निरन्तर प्रश्न उठाउने पार्टीको नीति रहेको उल्लेख गर्दै सभापति थापाले डर, धम्की र दबाबमार्फत कांग्रेसको आलोचनात्मक भूमिकालाई कमजोर बनाउने प्रयास सफल नहुने स्पष्ट पारे।

सम्बन्धित समाचार