उखु उत्पादक किसानहरुलाई अनुदान बापत रु ८० करोड भुक्तानी

2k Shares

उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भुक्तानी गरेको छ ।मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷०८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आर्थिक वर्षमा रु ८० करोड भुक्तानी गरेको हो।बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासा पश्चात् उखु उत्पादक किसानहरुको उपलब्ध विवरणका आधारमा उखु उत्पादक किासनहरुको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवम प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिए।
सरकारले उखु उत्पादक किसानहरुको संरक्षण र कृषि व्यवसाय प्रवद्र्धधन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ।चालु आर्थिक वर्षका लागि उखुको  न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु पाँच सय ६५ र नेपाल सरकारले प्रदान गर्ने प्रति क्विन्टल अनुदान रकम रु ७० निर्धारण गरिएको छ ।विभिन्न उखु उत्पादन हुने जिल्लाका उखु उत्पादक किसानहरुबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका लागि प्रस्ताव गरेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयोजकत्वमा अर्थ मन्त्रालय,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,राष्ट्रिय किसान आयोग,राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका प्रतिनिधि, नेपाल उखु उत्पादन महासंघ,चिनी उत्पादक संघलगायतका सरोकारवालाहरुको सुझाव समेतलाई विश्लेषण गरी प्रतिक्विन्टल उखुको लागत २० प्रतिशत मुनाफा र ढुवानी लागतसमेत गरी प्रतिक्विन्टल न्युनतम खरिद मूल्य रु पाँच सय ६५ सिफारिस गरिएको थियो तर किसानहरुले सो मुल्य प्रति आपती जनाईरहेका छन् ।

सम्बन्धित समाचार