साउन, काठमाडौं । स्पेनीस महारथी रियल मड्रिडको जर्सी लगाउने फ्रान्सेली स्टार फुटबलर केलियन एम्बाप्पेको सपना लामो पर्खाइपछी पूरा भएको छ ।
फ्रेन्च फर्वाड एम्बाप्पेलाई मंगलबारका दिन सान्टिएगो बेर्नाबाउमा करिब ८० हजार समर्थकहरूले उत्साहित हुँदै स्वागत गरेका थिए । २५ वर्षका फर्वाडले रियलसंग ५ वर्षको सम्झौता गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनलाई ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरे । ९ नम्बर जर्सी लगाएका उनले स्पानिस भाषामा भने, ‘यो मेरा लागि अविश्वसनीय दिन हो । बालक हुँदादेखि नै मैले मड्रिडका लागि खेल्ने सपना देखेको थिएँ र आज म यहाँ छु । यो मेरा लागि निकै महत्वपूर्ण छ ।’
एम्बाप्पेलाई अनुबन्ध गर्नुलाई रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका लागि ऐतिहासिक काम भनेका छन् । उनले भने, ‘आज हामी एक असाधारण खेलाडीलाई स्वागत गर्दैछौं, जसले आफ्नो बाल्यकालको सपना पूरा गर्दैछन् ।’
किर्तिमानी १५ औं पटकको च्याम्पियनसीप लिग बिजेता रियल मड्रिड स्टार खेलाडी एमबाप्पेको अनुबन्धनसँगै आगामी सिजन लालिगा लगायतका प्रतिस्पर्धामा थप तहल्का मच्चाउने योजनामा छ ।