रियलले जित्यो कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कप उपाधि

3k Shares

३१ साउन, काठमाडौं । किर्तिमानी १५ औं पटकको च्याम्पियनसीप लिग बिजेता स्पेनिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ ।

पोल्याण्डको वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र केलिएन एमबाप्पेले एक-एक गोल गरे ।

एटलान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो । ५८ औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो । रियलमा यसै सिजन अनुबन्धित भएका स्टार खेलाडी एम्बाप्पेले सुखद सुरुवात गरेका छन् ।

यसअघि रियल र बार्सिलोनाले समान पाँचपटक उपाधि जितेका थिए । अब रियल सर्वाधिक युइएफए सुपर कप जित्ने टिम बनेको छ । रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।

रियलले गत सिजन च्याम्पियन्स लिग र एटलान्टाले युरोपा लिगको उपाधि जितेको थियो । नयाँ सिजन सुरु हुनुअघि युरोपियन च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच युइएफए सुपर कप खेल खेलाउने प्रचलन छ । 

सम्बन्धित समाचार