भदौ २१, काठमाण्डौं । समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक पोएर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर्चुगलले क्रोएसियालाई २–१ ले पाखा लगाएको हो । जितसँगै पोर्चुगलले तीन अंक जोडेको छ ।
रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको जितमा रोनाल्डो र डियोगो डालोटले गोल गरे । यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ।
क्रिस्टियानो रोनाल्डो फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् ।
सातौं मिनेटमा डियोगोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । ३४औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–० को अग्रता बनायो । तर, ४१औं मिनेटमा क्रोएसियाले उपहार गोल पायो । पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २–१ को अवस्थामा सकियो।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २–१ ले विजयी भयो। यसै समूहको खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गर्यो ।
रोनाल्डोनले ७ अक्टोबर २००२ मा १७ वर्ष आठ महिना तीन दिनको उमेरमा पोर्चुगलको स्पोर्टिङका लागि दुई गोल गरेका थिए । सन् २००९ मा विश्व कीर्तिमानी ९४ मिलियन युरोमा रियल मड्रिडमा सामेल हुनुअघि उनी म्यानचेस्टर युनाइटेडमा सरेका थिए ।
युभेन्टसमा सामेल हुन इटाली जानुअघि स्पेनिस जायन्ट्समा नौ वर्षमा उनले ४३८ खेलमा ४५० गोल गरेका थिए। उनले इटालियन क्लबको साथ आफ्नो तीन वर्षको दौडान युनाइटेडमा फर्कनु अघि आफ्नो तालिकामा थप १०१ गोल थपे । जहाँ उनले ५४ खेलमा २७ गोल गरे । तर उनको खेल यात्रा रोर्किन्। उनी अहिले साउदी अरबको अल–नासरबाट खेलिरहेका छन्। उनले अहिलेसम्म ६८ गोल गरिसकेका छन्।
रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेसीले अहिलेसम्म ८ सय ६७ गोल गरेका छन् ।