भदौ २१, बागलुङ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्ग अन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेत लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्ड पूर्णरूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीले लुम्बिनी भ्वाइसलाई जानकारी दिए ।
उनका अनुसार ८/९ ठाउँमा सडक अवरुद्ध भएकोले अहिले पालिकाको पहलमा भारी वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउन लगाइएको र दिउँसो ३ बजेसम्म सडक सवारी आवतजावत हुने गरि काम भइरहेको बताए । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उनको भनाइ छ ।
सडक अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।