असोज २८, क्यालिफोर्निया । शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्यालीको ठिक बाहिरबाट एक व्यक्ति बन्दुकसहित गिरफ्तार भएका छन् ।
अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार उनी नक्कली पास बनाएर त्यस कार्यक्रममा पुगेका थिए। लास भेगासमा ४९ वर्षीय भर्न मिलरलाई एसयुभी (स्पोर्ट युटिलीटी भेइकल) बाट गिरफ्तार गरिएको हो ।
त्यहाँको कानुनी निकाय सेरिफ अफिसले घटनाले ट्रम्प र उनको कार्यक्रममा उपस्थितको सुरक्षामा कुनै समस्या नआएको जनाएको छ । मिलरलाई त्यसपछि पाँच हजार अमेरिकी डलर धरौटीमा रिहा गरिएको हो ।
आइतबार त्यहाँको कानुनी निकायले गरेको जानकारी अनुसार ती व्यक्ति ट्रम्पकै समर्थक थिए। यसअघि दुई पटक आक्रमणबाट बचेका ट्रम्पमाथि हुनसक्ने अर्को आक्रमणको जोखिम देखेर उनी त्यहाँ निगरानी गरेर बसेको अनुमान छ ।
त्यसैगरी निर्वाचनको पूर्व सन्ध्यामा धेरै समाचार संस्था अन्य निकायले कसैको पनि प्रस्ट अग्रता देखाएको छैन । औसतमा उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा ५० प्रतिशत तथा डोनाल्ड ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ ।
एबिसी न्युजले थर्ड पार्टी क्यान्डीडेटलाई समेत सामेल गरेर गरेको सर्वेक्षणमा ह्यारिसको पक्षमा ५० प्रतिशत तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको थियो । राष्ट्रसितका उम्मेदवारको तुलनाको सर्वेक्षणमा भने ह्यारिसको पक्षमा ५१ तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत थिए ।
एनबिसी न्युज पोलले आइतबार गरेको सर्वेक्षण अनुसार ट्रम्पको पक्षमा ४७ तथा ह्यारिसको पक्षमा ४६ प्रतिशत मत देखिएको थियो । यी दुई उम्मेदवारलाई मात्र सहभागी गराउँदा भने दुवैको ४८ प्रतिशत मत थियो। विभिन्न सर्वेक्षणलाई हेर्दा निर्वाचन परिणाम अनिश्चित नै देखिएको छ ।-एजेन्सी