समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

1.3k Shares

१ कात्तिक, काठमाडौं । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना प्रकाशित गरी ७ दिनको ‘अल्टिमेटम’ दिएको छ ।

अन्तिम पटक ऋणी र जमानतकर्तालाई  ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र पनि ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दिएको छ ।

केहीबाहेक अधिकांश ऋणी सदस्यले सम्पर्क पनि नगरेको र आफूले तिर्न बुझाउनु पर्ने दायित्व समेत तिरे बुझाएको नदेखिएकाले अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिले जनाएको छ ।

समितिले समस्याग्रस्त घोषणा भएका स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका संस्थाका ऋणीलाई ऋण तिर्न ७ दिनको अन्तिम अवसर दिएको हो ।

सम्बन्धित समाचार