घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी

1.7k Shares

कार्तिक ०६,काठमाडौँ । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटीका परेको छ । १४ गतेदेखि तिहार विधिवत् रुपमा सुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइनभ्याइ छ ।तिहारमा मखमली फूलको माला विशेष मानिन्छ । त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्न व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् । दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन् ।

मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयस्रोत नै फूलको व्यापार हो । किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन् । नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौँ) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए ।

भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउनुहुन्छ । अहिलेसम्म २५ हजार रुपियाँ जतिको माला बिक्री गरिसकेको उहाँको भनाइ छ । उहाँले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताउनुभयो । एउटा मालाको २५ रुपियाँसम्ममा बेच्ने गरेको जानकारी उहाँले दिनुभयो ।

स्थानीय सुमित्रा कार्की फूल राम्रो नभएको गुनासो गर्नुहुन्छ । युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उहाँलाई छ । मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपियाँ नै रहेको बताउनुभयो । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपियाँभन्दा बढी नदिने गरेको गुनासो उहाँको छ । दुःख र मेहनतअनुसार मूल्य नभएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘‘भाउ कहिले पनि बढेन । आउँदा हामीले २५ भने पनि २० देखि दिन्न भन्छन्, उनीहरु बाहिर पठाउँदा बढी नाफा खान्छन्, हामीलाई २० बाट कहिले नि बढाउँदैनन् । अहिले पहिला जस्तो गरेर भक्तपुरमा बेच्न जानुपर्दैन भन्ने मात्रै हो । यहाँ नै आउँछन् । पहिला हामी भक्तपुर बेच्न जान्थ्यौँ । दुःख र मेहनतअनुसार मूल्य छैन ।’’

कार्कीका अनुसार फूलको खेती गरेर माला बनाउनसके धानभन्दा नाफा हुन्छ । २० वर्षदेखि फूलको माला बनाउँदै आउनुभएका गुण्डुकै स्थानीय  कार्की अरु सबैको मूल्य बढ्दा फूलको मूल्य किन बढेन ? भन्दै प्रश्न गर्नुहुन्छ । आँखा राम्रोसँग देखेर माला उन्ने बेला र अहिले आँखा कमजोर भएको बेलामा माला उनेको मूल्य बराबर रहेको बताउनुभयो ।

‘‘कोही साना भन्छन्, कोही ठूला भन्छन्, छान्छन् पनि । हाम्रो मूल्य नै छैन । दुःख त गरेको हो । बिहान शीतमा गयो, टिप्यो, दिउँसो यसरी गाँस्यो, औषधी हाल्यो ।’’ उहाँ भन्नुहुन्छ, ‘‘औषधी हालिरहनुपर्छ । औषधीको मूल्य फूलभन्दा महँगो छ । औषधी चारपाँच दिनमा हालिरहनुपर्छ । योभन्दा २० वर्ष पहिला र अहिलेको मूल्य एउटै हुन्छ त ?’’

उहाँले किसानबाट लगेपछि व्यापारीहरुले बढी खाने गरेको बताउनुभयो । पुस्तौँदेखि गरिरहेको भएर आफूहरुले माला बनाउन नछोडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले गरिरहेको भएर छोड्न नसकेको हो, यो बसिबियाँलो । बुढाबुढी भएपछि त कहीँ जान सकिएन नि त । अलि अलि गरिरहेको मात्रै हो, तर यसको मूल्य चाहिँ छैन ।’’

भक्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाई बेच्दै आउनुभएका किसान सानु सुनुवार काम केही नभएकाले फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज भएकाले माला उन्ने र बेच्ने काममा लागेको बताउनुहुन्छ । उहाँले फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै २० रुपियाँसम्म व्यवसायीले किनेर लैजाने तर किसानलाई त्यसले फाइदा नहुने बताउनुभयो । उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने उहाँको भनाइ छ ।

‘‘फूलको व्यापार राम्रो भएन । सधैँ १८ देखि २० रुपियाँसम्म किनेर लैजान्छन् । कृषकलाई अलि घाटा जस्तो भयो । घरमै ठेकेदारले प्रतिगोटा २५ मा लगे अलि राम्रो हुन्थ्यो । फूल खेती गर्न धेरै दुःख छ ।’’ उहाँले भन्नुभयो, ‘‘औषधी हाल्नुपर्छ, औषधी हाल्दा क्यान्सर रोग लाग्ला जस्तो अनुभव आफूलाई नै हुन्छ । दिदीबहिनीलाई यसबाट पैसा आए घरखर्च चलाउन सहज हुन्छ । तिहारमा माल बेचेर आफ्ना दाजुभाइलाई केही किन्न पनि सजिलो हुन्छ । कृषि कार्यक्रममबाट उन्नत जातका फूलहरु हामीलाई दिए हुन्थ्यो भन्ने छ ।’’

विगतको तुलनामा अहिले फूल व्यापार गर्न गाह्रो रहेको किसान बताउँछन् । विचौलियाका कारण फूल बेच्न कठिन भएको किसान गुनासो गर्दछन् । गुण्डुकी निर्मला बस्नेत पहिला व्यापारीहरु घरघरमा आएर किन्ने गरे पनि अहिले नआएको बताउनुभयो । घरबाटै व्यापारीहरुले ३५ रुपियाँसम्म तिरेर लैजाने गरेको भए पनि अहिले व्यापारीलाई आउनै नदिने गरेको बताउनुहुन्छ । पहिला एकदुई लाखको माला बेच्ने गरेको भए पनि अहिले व्यापार नरहेको बताउनुभयो ।

सम्बन्धित समाचार