कार्तिक २३,काठमाण्डौ ।मानव तस्करीमा मुछिएपछि बुधबार मात्रै पदबाट राजीनामा दिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसँग जापान गएका तीन युवाले तस्करलाई प्रतिव्यक्ति १० लाखदेखि १३ लाख रुपैयाँका दरले बुझाएको खुलेको छ । धादिङको त्रिपुरा–सुन्दरी गाउँपालिका– ६ का महेश पाण्डेलाई जनही १० लाखदेखि १३ लाख रुपैयाँका दरले रकम बुझाएको पक्राउ परेकाहरूले बयान दिएका हुन् । उक्त रकम अधिकारीकहाँ पुगे–नपुगेको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘जापानसम्म पुर्याउने, टिकटको व्यवस्था गर्ने, नक्कली कागजात बनाउने, भिसा उपलब्ध गराउनेसम्मको प्रयोजनका लागि महेशले युवाबाट प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम असुलेको देखिन्छ । यसको हिस्सा निवर्तमान मन्त्री अधिकारीकहाँ पुग्यो–पुगेन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
’सरकारले राजधानीबाहिर मन्त्रीहरु जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरि आचारसंहिता बनाएको छ। विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्राबधान छ। त्यसविपरित कुटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा गएको र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न भएको समाचार बाहिरिएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीसँगै जापान पुगेका ६ जना हाल प्रहरीको हिरासतमा छन् ।
छानबिन गर्न माओवादीको माग, राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको दाबी
मन्त्री पदमा आसीन व्यक्ति प्रदेश सरकारको आचारसंहिता र भ्रमण निर्देशिकाविपरीत जापान जानु र मानव तस्करीमा जोडिनुले प्रदेशवासीकै शिर निहुरिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादीले घटनाको गहन छानबिन गर्न माग गरेको छ ।
‘जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पूरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार कसरी बेखबर रहे ? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय हो । त्यसमाथि प्रदेशको मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको लज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक छ भने यो प्रकरणमा राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको छ,’ माओवादी कोशी संसदीय दलका प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यसको आधारमा एउटै कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहितको हवाई टिकटको प्रबन्ध हुनु रहस्यमयी देखिएको विज्ञप्तिमा उल्लेख छ ।