नेपाल–रुस सम्बन्धमा आधुनिक युगका लागि स्थायी र बहुआयामिक रणनीति आवश्यकः सांसद सापकोटा

11.2k Shares

नेपाल–रुसबीच औपचारिक सम्बन्ध स्थापना ७० औं वर्ष प्रवेश गर्दैछ । तत्कालिन सोभियत संघदेखि आजको रुससँग नेपालको सम्बन्ध, दुई देशबीचको सहयोग आदान–प्रदान लगायतका विषयमा केहि उतारचढावहरु भने देखिरहेका छन् । यद्दपी, समग्रमा भन्दा नेपाल–रुस सम्बन्धलाई आत्मिय अवस्थाकै रुपमा हेरिन्छ । विशेषगरि तत्कालिन सोभियत संघले नेपाली जनतालाई दिएको शिक्षादेखि पूर्वाधार निर्माणको योगदान स्मरणीय छ । यस्तो स्थितिमा पछिल्लो समय नेपाल–रुस सम्बन्धका आयामहरु कसरी फेरिन पुगे ? के नेपाल–रुस सम्बन्धका नयाँ आयाम पहिल्याउने बेला भइसकेको हो ? यस्तै विषयमा हाम्रा प्रतिनिधिले नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश ।

१. नेपाल–रुस सम्बन्ध सोभियत संघको बेलाको स्थितिबाट धेरै टाढा पुग्दैछ । यस्तो हुनुका कारणहरु के हुन  सक्छन् ?

– नेपाल र सोभियत संघ (रुस) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको यही जुलाई २० मा ७० वर्ष प्रवेश गर्दै छ । २० जुलाइ १९५७ मा नेपाल र सोभियत संघबीच दौत्य सम्बन्धमा हस्ताक्षर भएपछि शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खुलेको थियो । नेपालको साक्षरता दर दश प्रतिशत हाराहारी हुँदा रुसले छात्रवृत्ति दिन त्यही वर्षदेख शुरु गरेको थियो । सोभियत संघ विघटनपछि रूस आफैं लामो समय आन्तरिक राजनीतिक–आर्थिक संकट र संक्रमणको सामना गर्नतर्फ केन्द्रित भयो । नेपाल पनि लोकतान्त्रिक आन्दोलन र सरकार परिवर्तन भइरहने जस्ता कारणले अस्थिर रह्यो । यी दुवै देशका आ–आफ्ना प्राथमिकतामा परिवर्तन आए । उदारीकरण र विश्व बजारको प्रभावले नेपालमा पनि नयाँ शक्ति र लगानीतर्फ ध्यान मोडियो, जसले गर्दा पुरानोजस्तो गहिरो र न्यानो सम्बन्धमा केही दूरी आएको पक्कै हो ।

२. रुसले नेपालमा गरेका सहयोग, विकास निर्माणमा पुर्याएको योगदान र यसका आयामलाई नेपालले कसरी लिनुपर्छ जस्तो लाग्छ र अबको दिनमा सम्बन्ध विस्तारमा के कुरामा ध्यान दिँदा ठिक होला ?

– सोभियत संघले नेपालमा कृषि, उद्योग र यातायात क्षेत्रका आधारभूत पूर्वाधार निर्माणमा ऐतिहासिक योगदान दिएको छ । विशेषगरी, सन् १९६५ मा बनेको पनौती जलविद्युत् आयोजना पहिलो मेगावाट क्षमताको सोभियत उपहार थियो । त्यसैगरी, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, नेपाल रोजिन एण्ड टर्पेन्टाइन लिमिटेड जस्ता उद्योगहरूले मुलुकको औद्योगिकीकरणलाई गति मात्र दिएनन्, ठूलो मात्रामा राजश्व र रोजगारी सिर्जना पनि गरे । त्यसैगरी, पूर्व–पश्चिम लोकमार्गको १०९ किलोमिटर लामो ढल्केबर–पथलैया खण्ड संघले निर्माण गर्यो । सन् १९६३ मा मुलुकको पहिलो बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ रुसकै पहलमा स्थापना भयो । यस्ता ठूला पूर्वाधारले विकासको मेरुदण्डको भूमिका खेले । यी सबै योगदानलाई हामीले सधैं सम्मान र कृतज्ञताका साथ सम्झिनुपर्छ । अबको दिनमा जलविद्युत्, कृषि, उद्योग, स्वास्थ्य, पर्यटन र प्राविधिक शिक्षामा रूससँग सहकार्यलाई अझ सुदृढ गर्नुपर्छ । साथै, पारदर्शी जीटुजी सम्झौतामार्फत सहयोग र लगानी बढाउनु र नयाँ पुस्तालाई लक्षित कार्यक्रम ल्याउनु जरुरी छ भन्ने हाम्रो स्पष्ट धारणा हो ।

३. नेपाल–रुसबीच उच्चस्तरीय भ्रमण आदान–प्रदानदेखि अन्य विषयमा केहि कमी देखिन थालेका छन् । यस्तो हुनुको पछाडीका कारण के होलान् जस्तो लाग्छ ?

– सोभियत संघ विघटनपछि रुसलाई नयाँ व्यवस्थामा टिक्न धेरै समय लाग्यो । मुद्रास्फीति, मन्दी, आन्तरिक र बाह्य द्वन्द्वका कारण उसको अर्थतन्त्र र कूटनीति दुवै कमजोर बने । प्रणालीगत परिवर्तनको संक्रमणमा उसको बाह्य सम्बन्ध पनि पातलो हुनु स्वाभाविक थियो । त्यहीबीच नेपालमा पनि माओवादीको नेतृत्वमा जनयुद्ध चल्यो, जसले तत्कालीन सरकारहरूलाई आन्तरिक राजनीतिक र सुरक्षा चुनौतीमा केन्द्रित गरायो । पटक–पटक सरकार बदलिनु, स्पष्ट परराष्ट्र नीतिको अभाव र सरकारका प्राथमिकता अन्य मुलुक वा साझेदारतर्फ मोडिनुले पनि रुससँगको सम्बन्धमा अपेक्षित सक्रियता ल्याउन सकेन । यी दुवै मुलुकका आ–आफ्ना आन्तरिक समस्या र अन्तर्राष्ट्रिय परिस्थितिका कारण उच्चस्तरीय भ्रमण, प्राविधिक आदान–प्रदान र परियोजना कार्यान्वयनमा कमी आएको हो भन्ने लाग्छ ।

४. रुसमा नेपाली युवाहरु सेनामा भर्ति भएर युद्ध लड्न थालेपछि नेपालले यसबारेमा उनीहरुको नेपाल फिर्तिदेखि विभिन्न कुरामा आफ्नो अडान राख्यो । तर, युवाहरु स्वःस्फुर्त रुपमा सेनामा गएको विषयलाई नेपालले रुससँगको सम्बन्ध, बहुआयामिकतासँग जोडेर हेर्नु पर्छ वा पर्दैन ?

– यो घटना व्यक्तिगत र रोजगारीका कारणले भएका छुट्टै घटना हुन् । यसलाई दुई मुलुकको कूटनीतिक सम्बन्धसँग सीधा जोड्नु हुँदैन । तर, मानवीय दृष्टिकोणबाट उनीहरूको सुरक्षाका लागि नेपालले चिन्ता व्यक्त गर्नु र आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन पहल गर्नु स्वाभाविक हो ।

५. रुस–युक्रेन युद्धमा नेपालीले मात्रै नभई अन्य देशका युवाले पनि सहभागिता जनाउने गरिरहेका छन् भन्ने आरोप लाग्ने गरेको छ । यो परिस्थितिमा कतिपय नेपालीहरुले त लेनिनको राष्ट्रको पक्षमा युद्ध लडिरहेको भन्दै सगौरव भनिरहेका छन् । यस्ता विषयमाथि उचित व्यवस्थापन र व्यवस्थित बनाउन नेपालले गर्नुपर्ने कुराहरु के    हुनसक्छन् ?

– यस्ता संवेदनशील विषयमा सरकार र परराष्ट्र निकायले स्पष्ट नीति अवलम्वन गर्नुपर्छ । नेपाली युवाहरूलाई वैदेशिक रोजगारी, शिक्षा र व्यवसायमा सुरक्षित वैकल्पिक अवसर दिनुपर्छ । विदेशस्थित नेपाली नियोगहरूलाई थप सक्रिय बनाउनुपर्छ । स्वतन्त्र रुपमा केहीको चाहना राजनीतिक चेतका विषय अलग हुन् । यहाँ व्यक्तिगत नभएर समग्र विषयमा कदम चाल्नु आवश्यक छ ।

६. रुसले नेपालसँगको सम्बन्ध विस्तारका लागि आवश्यक पहल चाहेको भनि राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले दिइरहेको अभिव्यक्तिको कतै सुनुवाई भएको देखिन्न । यस्तो अवस्था आउनुको कारण के हो ?

– विविध कारण हुन सक्छन् । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुस भ्रमणपछि रुसी दूतावासले नेपाललाई पत्र पठाएर १३ वटा विभिन्न आयोजनाको विस्तृत प्रस्ताव माग गरेकामा नेपाल सरकारबाट कुनै औपचारिक अनुरोध प्राप्त नभएको भन्ने रुसी पक्षको तर्क पनि सुनिएको छ । राजनीतिक अस्थिरता, दीर्घकालीन रणनीतिक दृष्टिकोणको कमी र प्रशासनिक ढिलासुस्तीले यस्ता प्रस्ताव निष्क्रिय हुने गरेको सुनिने गरेको छ । कहिलेकाँही दबाब वा ध्यान पुग्न नसकेर पनि सुनुवाई नभएको हुन सक्छ । यसलाई सुधार्न सरकारले स्पष्ट र सक्रिय कूटनीति अपनाउनुपर्छ ।

७. नेपालमा अहिले रासायनिक मलको चरम अभाव छ । रुसले जीटूजी मल दिने प्रस्ताव पहिलेदेखि नै गर्दै आएको छ । तर, सरकार किसानलाई सहजीकरणका लागि यस्ता प्रस्तावमा सम्झौता गर्नबाट पछि हटिरहेको छ भन्ने गरिन्छ ? तपाईको धारणा के छ यसमा ?

– मुलुकमा मलको चरम अभाव छ र किसान मर्कामा परेका छन् । मैले नै संसदमा कति पटक यो विषय उठान गरेको छु । जीटूजी सम्झौतामा निकै राम्रो मानिन्छ । यसो हुँदा गुणस्तरीय मल आउँछ र समयमा आउँछ । त्यसैले रुसको प्रस्तावलाई गम्भीरतापूर्वक लिनु र छिटो कार्यान्वयन गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो ।

८. अन्त्यमा, नेपाल–रुस सम्बन्धलाई आधुनिक र नयाँ आयाममा लैजान के गर्दा ठिक  होला ? तपाईका सुझाव के छन् ?

– नयाँ पुस्तालाई लक्षित गरेर शिक्षा र प्राविधिक छात्रवृत्ति बढाउनु अहिलेको आवश्यकता हो । त्यससँगै जलविद्युत्, कृषिउद्योग, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउनुपर्छ । विशेषगरी हिमालय क्षेत्रका पर्यटनलाई प्रोत्साहन गरेर रुसी पर्यटकको आगमन बढाउन सकिन्छ । उच्चस्तरीय भ्रमण र सांस्कृतिक आदान–प्रदानलाई नियमित र प्रभावकारी बनाउनुपर्छ । सरकार–सरकारका बीचमा सहयोग, लगानी सम्मेलन र व्यापार विस्तारलाई प्राथमिकतामा राख्नुका साथै जलवायु परिवर्तनजस्ता साझा चुनौतिका क्षेत्रमा पनि सहकार्य बढाउनु पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, नेपालले असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर दीर्घकालीन रणनीति बनाउनुपर्छ । यसरी मात्रै नेपाल–रुस सम्बन्धलाई आधुनिक, स्थायी र बहुआयामिक बनाइ आधुनिक समयका चुनौतिसँग जुध्न सकिन्छ ।

 

सम्बन्धित समाचार