गाजामा युद्धविराम गर्न हमास तयार

4.6k Shares

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको गाजा शान्ति योजनाप्रति प्यालेस्टाइनी विद्राेही समूह हमासले सकारात्मक संकेत देखाएको छ । समूहले सबै बन्धकहरू मुक्त गर्ने विषयमा तत्काल वार्ता गर्न तयार रहेको घोषणा गरेको छ । यसलाई युद्ध अन्त्यतर्फको सम्भावित प्रगति मानिएको छ ।

ट्रम्पको प्रस्तावलाई हमासले पूर्ण रूपमा स्वीकृति नदिएको पनि स्पष्ट पारेको छ । उसले मध्यस्थमार्फत वार्ता सुरु गर्न तत्पर रहेको बताउँदै गाजाको शासन 'प्यालेस्टिनी राष्ट्रिय सहमतिको आधारमा स्वतन्त्र प्राविधिक प्रशासन' लाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।

यो प्रतिक्रिया हमासले अमेरिकासम्म पुर्‍याइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ट्रम्पले शुक्रबार हमासलाई आइतबार बेलुकीसम्म जवाफ दिन अल्टिमेटम दिएका थिए । त्यसपछि हमासको वक्तव्य सार्वजनिक भएको हो । हमासको प्रतिक्रियाको अमेरिकी राष्ट्रपति ट्रम्पले स्वागत गरेका छन् । उनले गाजामा आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन् । 

ट्रम्पले भिडियो सन्देशमार्फत यो ठूलो दिन' भएको उल्लेख गर्दै अन्तिम निष्कर्ष आउन अझै समय लाग्ने बताएका छन् ।हमासले आफ्नो जवाफमा हतियार फिर्ता गर्ने र गाजाको शासनमा ट्रम्प नेतृत्वको निगरानीबारे भने केही बोलेको छैन । उसले यी संवेदनशील विषयहरूमा भविष्यमा छलफल हुने बताएको छ ।

इजिप्टले यसलाई 'सकारात्मक विकास' भनेको छ । कतारले पनि स्वागत गर्दै अमेरिका र इजिप्टसँग मिलेर छलफल अघि बढाउने जनाएको छ । इजरायली विपक्षी नेता यायर लापिदले यसलाई बाँकी बन्धक मुक्त गर्न र युद्ध अन्त्य गर्न 'अभूतपूर्व अवसर' भनेका छन् । 

सम्बन्धित समाचार