न्युयोर्कको मेयरमा जोहरान ममदानीको जित

4.6k Shares
काठमाडाैं । अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय प्राप्त गरेका छन् ।
 
ममदानीको जितले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभई सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।
 
ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।
 
व्यापारिक अभिजात वर्ग, रूढिवादी मिडिया र ट्रम्प आफैँले पनि उनको नीति र मुस्लिम पृष्ठभूमिमाथि तीव्र प्रहार गर्दै आएका थिए । यद्यपी, ती सबै आलोचनाबीच ममदानीको विजयले समावेशी र प्रगतिशील राजनीतिक शक्तिको उदयको सङ्केत गरेको छ ।
 
भर्जिनिया र न्युजर्सीमा डेमोक्रेटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ । यसैबीच, क्यालिफोर्नियामा मतदाताहरूले ट्रम्प समर्थित जेरीम्यान्डरिङ्ग (निरन्तर निर्वाचन क्षेत्र पुनःसंरचना) रोक्ने प्रस्ताव पारित गर्दै चुनावी निष्पक्षतामा जोड दिएका छन् ।
 
अर्कोतर्फ, ट्रम्पले भने परिणामको जिम्मेवारी लिन अस्वीकार गर्दै आफ्नै ‘ट्रुथ सोसल’ प्लेटफर्ममा अज्ञात पोलस्टरहरू उद्धृत गर्दै रिपब्लिकन पराजयको कारण सरकार बन्द हुनु र मतपत्रमा आफ्नो नाम नहुनु रहेको दाबी गरेका छन् । 

 

सम्बन्धित समाचार