जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरीको हतियार लुटपाटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट दुई थान चीनमा बनेको पेस्तोल र २० राउन्ड गोली बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी दिपक पोखरेलले जानकारी दिएका छन्।
पक्राउ परेकाहरू झापा र इलामका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। घटनामा संलग्न अभियुक्तहरूले काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरी हातहतियार लुटेर फरार भएका थिए। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ का सरोज पुरीलाई १ थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरेको थियो।
पक्राउमा आएका पुरीले लुटेको अर्को पेस्तोल दमक–६ का विश्व लिङ्देनलाई दिएको र लिङ्देनले उक्त पेस्तोल इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्वालाई लुकाइ राख्न दिएको खुल्न आएपछि प्रहरीले पवनलाई बारीमा खाल्डो खनेर राखेको अवस्थामा पेस्तोल र ५ राउन्ड गोलीसहित पक्राउ गरेको थियो। एसएसपी पोखरेलका अनुसार उनीहरूमाथि थप अनुसन्धान जारी छ।
यसैबीच, लुटिएको प्रहरीको पेस्तोल फेला पार्न प्रदेश प्रहरी सक्रिय देखिएको छ भने सुनसरीमा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, व्यवसायिक भवन र निजी घरमा भएको आगजनीका पीडित अझै न्यायको प्रतीक्षामा छन्। पीडितहरूले सुनसरी प्रहरीमा किटानी जाहेरी दिएको भए पनि क्षतिपूर्ति मूल्यांकन र दोषी पहिचानको प्रक्रिया अघि बढेको छैन भनी खुला रूपमा गुनासो गरेका छन्।
नेपाली कांग्रेस कोशीका महामन्त्री उमेश थापाले प्रहरीको दोहोरो मापदण्डमाथि प्रश्न उठाउँदै भने, “एउटा तर्फ प्रहरी आफ्नै संगठनबाट लुटिएको हतियार फेला पार्न सक्रिय भए पनि जनताको धन–सम्पत्तिमा भएको आगजनीमा ढिलाइ हुनु दुःखद छ।”
सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले पीडितको उजुरी दर्ता गरी कानुनी कारबाही अगाडि बढाइने आश्वासन दिएका छन्।