इरानसँग आणविक हतियार छैन, र तिनीहरू यसमा सहमत भएका छन् :ट्रम्प

2.2k Shares

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार बनाउन मिल्ने गरी प्रशोधन गरिएको युरेनियम हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका छन् ।

आणविक हतियार कार्यक्रम रोक्न भन्दै गत जुनमा इसराइलले इरानमाथि हमला गरेको थियो। इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टी इसराइलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि त्यति बेला युद्धमा होमिएको थियो ।

अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका बी–२ बमवर्षक विमानले बंकर–भेदी बम खसालेर फर्दो लगायत अन्य ठाउँका आणविक भट्टीमा प्रहार गरेका थिए । त्यति बेला इरानले आणविक बम बनाउन मिल्ने गरी करिब ४०० किलो युरेनियमको उच्च प्रशोधन गरेको थियो ।

अमेरिकी आक्रमण पछि सो युरेनियम भग्नावशेषको मुनि पुरिएको मानिन्छ। त्यसरी पुरिएको उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्न इरान राजी भएको ट्रम्पले दाबी गरेको भनेर द वाशिङटन पोष्टले लेखेको छ ।

'इरानसँग आणविक हतियार छैन, र तिनीहरू यसमा सहमत भएका छन् । हामीले बी-२ बमवर्षक विमानबाट गरेको आक्रमणका कारण जमिनको धेरै मुनि रहेको आणविक धुलो हामीलाई फिर्ता दिन उनीहरू सहमत भएका छन् ।

त्यसैले इरानसँग हाम्रा धेरै सहमतिहरू भएका छन्, र मलाई लाग्छ कि केही धेरै सकारात्मक र धेरै महत्त्वपूर्ण कुरा हुन गइरहेको छ,' ह्वाइट हाउसमा बिहीबार पत्रकारहरूलाई ट्रम्पले भने । ट्रम्पले पुरिएको सो उच्च प्रशोधित युरेनियमलाई आणविक धुलो भन्ने गर्छन् ।

सम्बन्धित समाचार