ग्रेटर अष्टिन नेपाली समाजको निर्वाचन: पदम ठकुरी नेतृत्वमा समावेशी प्यानल सार्वजनिक

2.7k Shares

काठमाडौं । ग्रेटर अष्टिन नेपाली समाजको आसन्न निर्वाचनलाई लक्षित गर्दै पदम ठकुरी नेतृत्वमा एक सशक्त, समावेशी र प्रतिबद्ध प्यानल सार्वजनिक गरिएको छ। उक्त प्यानलले संस्थागत सुधार, पारदर्शिता र समुदायको एकतालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

सार्वजनिक गरिएको प्यानलअनुसार अध्यक्ष पदका लागि पदम ठकुरी, वरिष्ठ उपाध्यक्षमा विनोद शाह, महिला उपाध्यक्षमा ज्ञानु कोइराला, उपाध्यक्षमा बोधराज घिमिरे र महासचिवमा विष्णु पहाडी उम्मेदवार रहेका छन्। प्यानलमा अन्य अनुभवी र सक्षम व्यक्तित्वहरूको पनि सहभागिता रहेको बताइएको छ।

प्यानलले समाजसमक्ष ६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै संस्थालाई थप पारदर्शी, उत्तरदायी र समावेशी बनाउने लक्ष्य प्रस्तुत गरेको छ। प्रतिबद्धतामा विधान संशोधन गरी सबैको भावना समेटिएको “हाम्रो विधान” निर्माण गर्ने, संस्थाको आर्थिक गतिविधिलाई पूर्ण पारदर्शिताका साथ सञ्चालन गर्ने, तथा विगतमा बाहिरिएका ट्रस्टीहरूलाई सम्मानपूर्वक पुनः समावेश गर्ने विषय समेटिएका छन्।

त्यसैगरी, सार्वजनिक शौचालय तथा पार्किङ स्थलको विस्तार, अष्टिनबासी नेपालीहरूको संस्था र मन्दिरप्रति अपनत्व र सहभागिता सुनिश्चित गर्ने, र “न निषेध, न प्रतिशोध-हामी एक बनौँ” भन्ने मूल नारासहित अघि बढ्ने प्रतिबद्धता पनि प्यानलले व्यक्त गरेको छ।

उक्त प्यानलको घोषणाले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ। परिवर्तन, पारदर्शिता र सहकार्यको अपेक्षा राख्ने समुदायका लागि यो प्यानल एक बलियो विकल्पका रूपमा प्रस्तुत भएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार