ढुक्क हुनुहोस्, वास्तविक सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौँ: प्रधानमन्त्री

2.6k Shares

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका सुकुम्बासी बस्तीहरू हटाउने तयारीका बीच वर्षौं पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार बिहानदेखि थापाथली, गैरीगाउँ, मनोहरा लगायत बागमती तथा अन्य खोला किनारका जोखिमपूर्ण बस्तीहरू हटाउने प्रक्रिया सुरु हुन लागेका बेला प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्: “बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य! यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि ।” प्रधानमन्त्री शाहले थप भनेका छन् ,” अब यो समस्यालाई आउने वर्षहरूका लागि थाती नराखी सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्छ ।”

“थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो,” उनको पोस्टमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले काठमाडौंका खोला किनारबाहेक देशभरका हजारौं वास्तविक सुकुम्बासी परिवार रहेको बताएका छन् । उनले भनेका छन्,“हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।”

उनले आफ्नो पुराना वाचा सम्झाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र र सरकारको ‘१०० वटा गर्नै पर्ने काम’ (बुँदा ९१ र ९२) मा सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

सम्बन्धित समाचार