उज्बेकिस्तानको समरकन्दमा भइरहेको एसियाली विकास बैंक (ADB) को ५९औँ वार्षिक बैठकमा नेपालले नयाँ सरकार विकास साझेदारसँग थप गहिरो सहकार्य गर्न तयार रहेको जनाएको छ ।
नेपालका तर्फबाट अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्माले सम्बोधन गर्दै वर्तमान सरकार स्थिर र सुधारमुखी रहेको र आर्थिक रूपान्तरणलाई तीव्र बनाउने स्पष्ट जनादेश प्राप्त भएको बताए । उनले गुणस्तरीय लगानी आकर्षित गर्दै समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सरकारको रहेको उल्लेख गरे ।
नेपालले विशेषगरी जलविद्युत, पूर्वाधार, डिजिटल कनेक्टिभिटी, कृषि र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न एडीबीलाई आग्रह गरेको छ। जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राख्दै स्वच्छ ऊर्जा उत्पादन र क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि सहकार्य बढाउन नेपालले जोड दिएको छ ।
सरकारले निजी क्षेत्रको ठूलो लगानी आकर्षित गर्न ‘ब्लेन्डेड फाइनान्स’ र गैर-सार्वभौमिक वित्तीय उपकरणहरू प्रयोग गर्न एडीबीलाई प्रोत्साहन गरेको छ। साथै, नेपाललाई स्वच्छ ऊर्जा साझेदारका रूपमा प्राथमिकता दिन पनि आग्रह गरिएको छ।
नेपालले आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै क्षेत्रीय ट्रान्जिट र व्यापार हब बन्ने सम्भावना औंल्याउँदै सीमापार पूर्वाधार तथा लजिस्टिक्समा लगानी बढाउन पनि अनुरोध गरेको छ। साथै, डिजिटल पूर्वाधार, शिक्षा, स्वास्थ्य र सीप विकासमा थप सहयोग आवश्यक रहेको जनाएको छ ।
विश्वव्यापी उत्सर्जनमा न्यून योगदान भए पनि नेपाल जलवायु जोखिमबाट प्रभावित भएको उल्लेख गर्दै जलवायु वित्त सहज र समयमै उपलब्ध गराउन पनि एडीबीसँग आग्रह गरिएको छ ।