काठमाडौं । गोरखाको भच्चेक पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षणको नयाँ केन्द्र बन्दै गएको छ । शहरी कोलाहलबाट केही समय टाढा भएर शान्त वातावरण र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहनेहरूका लागि भच्चेक उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो ।

काठमाडौंबाट करिब १६३ किलोमिटर दूरीमा रहेको भच्चेक समुद्री सतहबाट झन्डै १ हजार ७५० मिटर उचाइमा अवस्थित छ । यहाँको चिसो मौसम, हरियाली डाँडाकाँडा र वरिपरि देखिने हिमशृंखलाले पर्यटकलाई मोहित बनाउने गरेको छ ।
स्थानीयका अनुसार पछिल्ला वर्षहरूमा सडक पहुँच विस्तार भएसँगै भच्चेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । गोरखा सदरमुकामबाट बाह्रकिलो हुँदै साना सवारीसाधनमार्फत सहजै भच्चेक पुग्न सकिन्छ । बाह्रकिलोबाट करिब ४५ किलोमिटर दूरी पार गरेपछि भच्चेक पुगिने बताइएको छ । त्यस्तै, पालुङटार हुँदै कालोपत्रे सडकमार्फत पनि त्यहाँ पुग्न सकिन्छ ।

उच्च पहाडी क्षेत्रमा अवस्थित भच्चेकबाट गोरखा र लमजुङका विभिन्न फाँट तथा बस्तीको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । मौसम सफा भएका बेला गणेश हिमाल, अन्नपूर्ण हिमाललगायतका हिमशृंखला स्पष्ट रूपमा देख्न सकिने स्थानीय बताउँछन् । यही मनोरम दृश्य र शान्त वातावरणका कारण भच्चेक आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
भच्चेक आसपास गुरुङ, तामाङ, ब्राह्मण र क्षेत्री समुदायको बसोबास रहेको छ । यहाँ पुग्ने पर्यटकले विभिन्न जातीय संस्कृति, परम्परा तथा स्थानीय जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सक्नेछन् । भच्चेक बजारबाट करिब १५ मिनेटको दूरीमा रहेको नम्की गाउँमा पर्यटकका लागि होमस्टेको सुविधा समेत उपलब्ध रहेको छ ।

विशेषगरी तामाङ समुदायको बाहुल्यता रहेको नम्की गाउँमा स्थानीय परिकार, सांस्कृतिक नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ । अजिरकोट गाउँपालिकामा गण्डकी प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा होमस्टे सञ्चालन गरिएको हो । हाल १० घरधुरीमा २० देखि ४० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको जनाइएको छ ।
भच्चेक क्षेत्रबाट ऐतिहासिक चेपे नदी, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको दूधपोखरी, नागे पोखरी र निम्चे पोखरीसम्म पदयात्रा गर्न सकिने भएकाले पनि यो क्षेत्र थप आकर्षक बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरणका कारण भच्चेक गण्डकी प्रदेशकै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीयको भनाइ छ ।