काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविराम हुने भएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ९ मेदेखि ११ मेसम्म युद्धविराम लागू हुने जानकारी दिएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी पहलमा युद्ध अन्त्यतर्फ अघि बढ्ने उद्देश्यसहित तीनदिने युद्धविराममा सहमति भएको पुष्टि गरेका छन् ।
रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभका अनुसार अमेरिका, रुस र युक्रेनबीच टेलिफोन संवादमार्फत युद्धविराममा सहमति जुटाइएको हो । साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच हालै भएको वार्तामा पनि युद्धविरामबारे छलफल भएको बताइएको छ ।
युद्धविराम अवधिभर सबै सैन्य गतिविधि रोक्ने तथा दुवै पक्षले एक–एक हजार युद्धबन्दी आदानप्रदान गर्ने समझदारी बनेको जनाइएको छ ।
ट्रम्पले यो कदम लामो समयदेखि जारी युद्ध अन्त्यको सुरुआत हुन सक्ने बताएका छन् । उनले सन् २०२४ को चुनावी अभियानमा पनि युक्रेन युद्ध अन्त्यलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका थिए । तर हालसम्म शान्ति वार्ताले ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।