देशका विभिन्न भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

1.2k Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भूभागमा आंशिक बदलीको अवस्था रहनेछ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा हल्का वर्षा हुने सम्भावना रहेको छ । अन्य प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।

आज रातिको मौसम पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा बदलीको प्रभाव बढी रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने जनाइएको छ ।

महाशाखाले कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद्ले वर्षा र चट्याङका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 
 
सम्बन्धित समाचार