बुडापेस्ट । हङ्गेरीमा लामो समयदेखि सत्तामा रहेका भिक्टर ओर्बानको युग अन्त्य गर्दै पिटर मग्यार नयाँ प्रधानमन्त्री बनेका छन् । शनिबार संसद्मा आयोजित विशेष समारोहबीच उनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।
मध्य–दक्षिणपन्थी विचारधाराको टिस्जा पार्टीका नेता मग्यारले हालै सम्पन्न संसदीय निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेका थिए । उनको पार्टीले संसद्मा दुईतिहाइ बहुमत ल्याउँदै ओर्बान नेतृत्वको राष्ट्रवादी फिडेज पार्टीलाई सत्ताबाट बाहिर पठाएको हो ।
शपथ ग्रहणपछि सम्बोधन गर्दै मग्यारले आफू शासन गर्नभन्दा देश र जनताको सेवा गर्न आएको बताएका छन् । उनले हङ्गेरीमा लोकतान्त्रिक संस्थाहरू पुनः सुदृढ बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा युरोपेली सङ्घसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
४५ वर्षीय पिटर मग्यार पेशाले वकिल हुन् । उनी कुनै समय ओर्बानकै फिडेज पार्टीसँग नजिक थिए र सरकारी निकायमा समेत कार्यरत थिए । तर सन् २०२४ मा सरकारभित्रको भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध खुलेर बोल्दै उनले पार्टी र सरकारी जिम्मेवारी त्यागेका थिए । त्यसपछि उनले टिस्जा पार्टीको नेतृत्व सम्हाल्दै छोटो समयमै लोकप्रियता कमाएका हुन् ।
मग्यारले आफ्नो मुख्य राजनीतिक एजेन्डा भ्रष्टाचार अन्त्य, न्याय प्रणाली सुधार, स्वतन्त्र सञ्चारमाध्यमको पुनःस्थापना तथा राज्य संस्थाहरूमा राजनीतिक हस्तक्षेप हटाउने बनाएका छन् । उनले सार्वजनिक सम्पत्तिको दुरुपयोगबारे अनुसन्धान गर्न विशेष निकाय गठन गर्ने घोषणा पनि गरेका छन् ।
उनको नेतृत्वसँगै हङ्गेरी पुनः युरोपेली लोकतान्त्रिक धारमा फर्किने अपेक्षा गरिएको छ । ओर्बान सरकारमाथि विगतमा अधिनायकवादी प्रवृत्ति, प्रेस स्वतन्त्रता कमजोर बनाएको तथा रूससँग अत्यधिक निकटता बढाएको आरोप लाग्दै आएको थियो ।