काठमाडौँ । देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्र तथा मध्य र पूर्वी भागको माथिल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको आंशिक प्रभावका कारण विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य भू–भागमा पनि आंशिक बदली देखिएको छ । कोशी र बागमती प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने मौसम विभागले जनाएको छ । ती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।