काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा करिब डेढ लाख विद्यार्थी नन–ग्रेडेड (NG) भएका छन् । सार्वजनिक विवरणअनुसार १ लाख ४६ हजार ५०७ विद्यार्थीले आवश्यक न्यूनतम ग्रेड ल्याउन नसकेपछि नन–ग्रेडेड भएका हुन् ।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ठूलो संख्यामा विद्यार्थी NG भएपछि शैक्षिक क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ ।
बोर्डका अनुसार दुई विषयसम्म नन–ग्रेडेड भएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । अघिल्ला वर्षहरूमा जस्तै गणित र विज्ञान विषयमा सबैभन्दा धेरै विद्यार्थी असफल हुने प्रवृत्ति देखिएको छ ।
यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको र प्रविधिको प्रयोग बढाइएकाले नतिजा छिट्टै सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।