म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ ।
ढुंगा र माटोसहितको ठूलो पहिरो खस्दा बेनी–जोमसोम सडकखण्डमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो । सडक अवरुद्ध भएपछि बेनीदेखि मुस्ताङतर्फ र जोमसोमबाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
सडक बन्द हुँदा स्थानीयवासीसँगै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू समेत प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाका अनुसार सडक विभागका उपकरण परिचालन गरेर पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट पटक–पटक पहिरो खस्ने गरेको स्थानीयले बताएका छन् । सामान्य वर्षा हुँदा पनि लेदोसहितको पहिरो झर्ने भएकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्ने गरेको छ ।