काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखलाको पहिलो खेलमा मंगलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
घरेलु टोली नेपाल स्कटल्यान्डलाई हराउँदै शृंखलामा सुखद सुरुवात गर्ने योजनामा छ । यता स्कटल्यान्ड पनि जित निकाल्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिने लक्ष्यमा रहेको छ ।
नेपालले गत साता ओमान र यूएईसँग खेलेको शृंखलामा तीन जित निकाल्दै उच्च मनोबल बनाएको थियो । त्यसैले घरेलु मैदानमा हुने यो शृंखला नेपालका लागि थप महत्त्वपूर्ण मानिएको छ ।
लिग–२ अन्तर्गत नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई–दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपालले अब शृंखलामा १२ खेल खेल्न बाँकी रहेको छ ।
हाल अंकतालिकामा अमेरिका २४ खेलबाट ३६ अंक जोड्दै शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल भने २४ खेलबाट १८ अंक जोडेर सातौं स्थानमा छ ।
घरेलु मैदानमा हुने अन्तिम शृंखलाका यी चार खेल नेपालका लागि निकै निर्णायक मानिएका छन् । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ ।