पृथ्वी राजमार्गमा मध्यराति दुर्घटना, ३४ जनाको काठमाडौंमा उपचार जारी

1.5k Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् । दुर्घटनामा तीनवटै सवारी साधनमा रहेका ६८ यात्रुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार गएराति करिब साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि उक्त बसलाई काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०१–००६ ख ६७१६ नम्बरको अर्को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी तथा स्थानीयवासीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो । घाइतेमध्ये केहीलाई बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको थियो ।

उपचारपछि तीन जना डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा तथा रौतहट गजुराका २८ वर्षीय ट्रक चालक प्रमोद चौधरी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार