अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच आज बेइजिङमा बहुप्रतिक्षित उच्चस्तरीय भेटवार्ता हुँदैछ । विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने मानिएको यस भेटलाई कूटनीतिक दृष्टिले निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
दुई नेताबीचको छलफलमा अमेरिका–चीन व्यापार सम्बन्ध, ताइवानको सुरक्षा अवस्था, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा प्रतिस्पर्धा, दुर्लभ खनिज पदार्थको आपूर्ति तथा विश्व सुरक्षासँग सम्बन्धित विभिन्न विषय उठ्ने जनाइएको छ । पछिल्लो समय अमेरिकाले चिनियाँ उत्पादनमा अतिरिक्त भन्सार शुल्क लगाउनुका साथै प्रविधि क्षेत्रमा कडाइ गरेपछि दुई देशबीच तनाव बढेको थियो ।
अमेरिकाले विशेषगरी सेमीकन्डक्टर, एआई चिप्स र उच्च प्रविधिमा चीनमाथि लगाएको प्रतिबन्धलाई बेइजिङले असन्तुष्टिका रूपमा लिएको छ । चीनले पनि जवाफस्वरूप केही अमेरिकी कम्पनीमाथि निगरानी बढाएको छ । यहीबीच दुवै देश आर्थिक सम्बन्ध थप बिग्रिन नदिन वार्तामार्फत समाधान खोज्ने प्रयासमा देखिएका छन् ।
भेटवार्तामा ताइवानको विषय पनि प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ । अमेरिकाले ताइवानलाई निरन्तर सैन्य सहयोग दिँदै आएकोमा चीनले आपत्ति जनाउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने अमेरिकाले ताइवानको सुरक्षा र लोकतान्त्रिक अधिकारको पक्षमा समर्थन जनाउँदै आएको छ ।
यसैगरी इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा, उत्तर कोरियाको आणविक गतिविधि तथा मध्यपूर्वको अवस्थाबारे पनि छलफल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्प नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकी व्यापार, प्रविधि र वित्तीय क्षेत्रका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू समेत सहभागी रहेका छन् । चीनले अमेरिकी कृषि उत्पादन आयात बढाउने सम्भावनाबारे संकेत गरेको बताइएको छ भने अमेरिकाले चिनियाँ बजारमा आफ्ना कम्पनीहरूको पहुँच सहज बनाउन आग्रह गर्ने तयारी गरेको छ ।
विश्लेषकहरूले यो भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने बताएका छन् । विश्वका दुई शक्तिशाली राष्ट्रबीचको सम्बन्धले विश्व व्यापार, लगानी, प्रविधि र सुरक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले पनि यस वार्तालाई चासोपूर्वक हेरिरहेको छ ।