नुवाकोटमा दुई दाजुभाइ मृत फेला, हत्याराले आफैं प्रहरीलाई दियो सूचना

2k Shares

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको शव खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार एक व्यक्तिले गएराति फोन गरेर आफूले हत्या गरेको भन्दै घटनास्थलबारे जानकारी दिएपछि प्रहरी टोली खोजीमा गएको थियो । त्यसक्रममा खोलामा लुकाइएको अवस्थामा दुवैको शव बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाले आर्थिक लेनदेनसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक जानकारी आएको बताए । सूचना दिने व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फोन गर्ने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । यसले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो निर्माण गर्न जाने भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए । घटनास्थल सडकबाट करिब पाँच घण्टा पैदल दूरीमा पर्ने भएकाले शव परीक्षणका लागि त्रिशूली अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार