ताइवान मुद्दामा चीनको चेतावनी : गलत कदमले अमेरिका–चीन सम्बन्ध संकटमा पुग्न सक्छ
1.9k
Shares
एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानको विषय अमेरिका–चीन सम्बन्धको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण मुद्दा भएको बताएका छन् । उनले ताइवान मामिलालाई गलत ढंगले अघि बढाइए दुई देशबीचको सम्बन्ध खतरनाक मोडमा पुग्न सक्ने चेतावनी दिएका हुन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भइरहेको भेटवार्ताका क्रममा ताइवानको विषय उठाएका थिए । उनले ताइवान मुद्दालाई सही तरिकाले व्यवस्थापन गर्न सके अमेरिका र चीनबीच स्थिर र सन्तुलित सम्बन्ध कायम रहने बताएका छन् ।
ताइवान लामो समयदेखि अमेरिका र चीनबीच विवादको प्रमुख विषय रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो अलग्गिएको प्रान्तका रूपमा दाबी गर्दै आएको छ भने अमेरिकाले ‘एक चीन नीति’ स्वीकार गरे पनि ताइवानलाई सैन्य तथा राजनीतिक सहयोग प्रदान गर्दै आएको छ ।
पछिल्ला वर्षहरूमा अमेरिकाले ताइवानलाई अर्बौं डलर बराबरका हतियार सहायता प्याकेज उपलब्ध गराउँदै आएको छ । चीनले भने यसप्रति लगातार असन्तुष्टि जनाउँदै आएको छ र यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेपको रूपमा व्याख्या गर्दै आएको छ ।