धरपकडले व्यवसायिक क्षेत्र त्रसित, महासंघको सरकारलाई चेतावनी

624 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले पछिल्ला दिनमा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरमाथि भइरहेको पक्राउ र अनुसन्धान प्रक्रियाले देशको व्यावसायिक वातावरणमा त्रास सिर्जना भएको जनाएको छ ।

महासंघले बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै आर्थिक मुद्दाको अनुसन्धानका नाममा गरिएका धरपकडले लगानीकर्ता र निजी क्षेत्रलाई नकारात्मक सन्देश गएको उल्लेख गरेको हो ।

महासंघका अनुसार निजी क्षेत्र र बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूमाथि “फौजदारी शैली” मा भइरहेको कारबाहीले समग्र आर्थिक गतिविधिमा असर पर्न सक्ने खतरा बढेको छ । विशेषगरी बैंकका कार्यकारी अधिकृत पक्राउ पर्ने घटनाले बैंकिङ प्रणालीको विश्वसनीयतामै प्रश्न उठ्न सक्ने महासंघको चिन्ता छ ।

ध्यानाकर्षण पत्रमा अनुसन्धान अघि नै पक्राउ गर्ने, सार्वजनिक रूपमा मिडिया ट्रायल गर्ने तथा प्रतिष्ठामाथि असर पर्ने गतिविधि रोक्न सरकारलाई आग्रह गरिएको छ । महासंघले देवानी प्रकृतिका विषयलाई सोहीअनुसार कानुनी प्रक्रियाबाट टुंग्याउनुपर्ने धारणा पनि राखेको छ ।

साथै नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसैलाई दोषी मान्न नहुने व्यवस्था गरेको स्मरण गराउँदै महासंघले सरकारलाई संवेदनशील र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार