काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । गएराति लखनउमा सम्पन्न खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमै ३ विकेट गुमाएर पूरा गरेको हो ।
लखनउको जितमा मिचेल मार्शले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ९ चौका र ७ छक्काको सहयोगमा ९० रनको शानदार पारी खेले । यस्तै, जोश इंग्लिसले ३६ तथा निकोलस पूरनले ३२ रनको योगदान दिए । चेन्नईका मुकेश चौधरी र स्पेन्सर जोन्सनले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । चेन्नईका कार्तिक शर्माले ४२ बलमा ६ चौका र ५ छक्कासहित ७१ रनको उत्कृष्ट इनिङ खेले । शिवम दुबेले ३२ तथा डेवाल्ड ब्रेभिसले २५ रन जोडे । लखनउका आकाश सिंहले सर्वाधिक ३ विकेट लिए ।
यो जितपछि पनि लखनउ अंक तालिकाको पुछारमै रहेको छ । लखनउको १२ खेलबाट ८ अंक पुगेको छ भने पराजित चेन्नई समान खेलबाट १२ अंकसहित छैटौँ स्थानमा रहेको छ ।