वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले अमेरिका कसैलाई पनि स्वतन्त्र घोषणा गर्न प्रोत्साहन गर्न नचाहेको बताएका हुन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले कसैलाई पनि स्वतन्त्रता घोषणा गर्न प्रोत्साहन नगर्ने बताएका छन् । उनले अमेरिका ताइवान मुद्दामा तनाव बढाउने पक्षमा नरहेको उल्लेख गर्दै चीन र ताइवान दुवैले संयमता अपनाउनुपर्ने बताए ।
ट्रम्पले अमेरिकाको ताइवानसम्बन्धी नीति यथावत् रहेको स्पष्ट पार्दै ताइवानका कारण कुनै युद्धको अवस्था सिर्जना हुन नदिन चाहेको पनि बताएका छन् । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ ।
पछिल्ला वर्षहरूमा ताइवान वरिपरि चीनले सैन्य गतिविधि तीव्र बनाएको छ भने अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने योजनालाई लिएर बेइजिङले असन्तुष्टि जनाउँदै आएको छ ।