काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षको जिम्मेवारी विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाललाई तथा रजिस्ट्रारको जिम्मेवारी व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई दिएका छन् ।
उपकुलपति बज्राचार्यले शुक्रबार दुवै पदाधिकारीलाई जिम्मेवारी दिएका हुन् । यसअघि अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएपछि ती पद रिक्त रहेका थिए ।
पूर्व उपकुलपति प्राडा. दीपक अर्यालले राजीनामा दिएसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि पद छाडेका थिए ।
रिक्त पदमा तत्कालका लागि जिम्मेवारी तोकिएको र नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ । उपकुलपति सिफारिस समिति गठन भइसकेको तथा आवेदन मागसमेत गरिएको खबरमा उल्लेख छ ।