बेंगलुरुको विस्फोटक ब्याटिङ, पञ्जाबमाथि २३ रनको जित

8.7k Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ६१औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई २३ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा बेंगलुरुले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रनमा सीमित भयो ।

१३ खेलबाट ९ जितसहित १८ अंक जोडेको बेंगलुरुले प्लेअफ यात्रा पक्का गर्दा पञ्जाब किंग्स भने लगातार छैटौँ हारसँगै प्रतियोगिताबाट लगभग बाहिरिएको अवस्थामा पुगेको छ ।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबको सुरुवात निकै खराब रह्यो । टोलीले १९ रनमै ३ विकेट गुमाएको थियो । प्रियांश आर्य शून्य, प्रभसिमरन सिंह २ तथा कप्तान श्रेयस अय्यर १ रनमा आउट भए । त्यसपछि कूपर कोनोलीले ३७ र सूर्यांश शेडगेले ३५ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे ।

मध्यक्रममा मार्कस स्टोइनिस र शशांक सिंहले ६७ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि जित दिलाउन सकेनन् । शशांकले २७ बलमा ५६ रनको आक्रामक अर्धशतक प्रहार गरेका थिए । बेंगलुरुका लागि रसिक सलाम डारले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । विराट कोहलीले ३७ बलमा ५८ रन बनाउँदै आईपीएल करियरको ६७औँ अर्धशतक पूरा गरे । देवदत्त पडिक्कलले ४५ रन जोडे भने जितेश शर्माले अविजित ७३ रनको उत्कृष्ट इनिङ्स खेले । टिम डेभिडले १२ बलमा २८ रन थपे । पञ्जाबका लागि हरप्रीत बराडले २ विकेट लिए ।

आईपीएल इतिहासमा यी दुई टोलीबीच हालसम्म ३८ खेल भएका छन् । जसमा बेंगलुरुले २० खेल जित्दा पञ्जाबले १८ खेल आफ्नो पक्षमा पारेको छ ।

सम्बन्धित समाचार