ड्रोन आक्रमणले यूएईमा तनाव बढ्यो, आणविक केन्द्र आसपास आगलागी

3.9k Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक ऊर्जा केन्द्र बाहिर ड्रोन आक्रमणपछि आगलागी भएको छ । आक्रमणका क्रममा केन्द्र बाहिर रहेको एक विद्युत् जेनेरेटरमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अबुधाबी मिडिया अफिसका अनुसार घटनाबाट कुनै मानवीय क्षति भएको छैन । साथै, आणविक केन्द्रको सुरक्षा प्रणाली र रेडिएसन स्तरमा पनि कुनै असर नपरेको बताइएको छ । अधिकारीहरूले केन्द्रका सम्पूर्ण प्रणाली सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिएका छन् ।

समाचार एजेन्सी एपीका अनुसार आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूह वा राष्ट्रले लिएको छैन । तर पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका कारण इरानमाथि आशंका गरिएको छ । पछिल्ला दिनहरूमा इरानले यूएईलाई विभिन्न चेतावनी दिँदै आएको बताइएको छ ।

युद्धको अवस्थाबीच यूएईमा इजरायलको हवाई प्रतिरक्षा प्रणाली र अमेरिकी सैनिकको उपस्थितिलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ । घटनापछि यूएईले संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता थप कडा बनाएको छ ।

यता, क्षेत्रीय तनावका बाबजुद पनि होर्मुज जलडमरूमध्य हुँदै ऊर्जा आपूर्ति भने जारी रहेको छ । मार्शल आइल्यान्ड्सको झण्डा बोकेको ‘सिमी’ नामक एलपीजी ट्यांकर २० हजार टन ग्यास बोकेर भारतको काण्डला बन्दरगाह सुरक्षित रूपमा पुगेको जनाइएको छ ।

एएनआईका अनुसार युद्ध सुरु भएयता हालसम्म १५ वटा एलपीजी जहाज भारत पुगिसकेका छन् । ‘एमभी सनसाइन’ नामक अर्को जहाजले पनि हालै सुरक्षित रूपमा होर्मुज जलडमरूमध्य पार गरेको बताइएको छ ।

मध्यपूर्वमा बढ्दो तनावसँगै ऊर्जा आपूर्ति, समुद्री सुरक्षा तथा आणविक केन्द्रहरूको सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो थप बढेको छ ।

सम्बन्धित समाचार