काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य हमला गर्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला इरानले विश्व शक्ति सन्तुलन परिवर्तन भइसकेको दाबी गरेको छ । इरानले अमेरिकाको दबाबमा नझुक्ने चेतावनी दिँदै सम्भावित अमेरिकी हमलाको परिणाम गम्भीर हुने बताएको छ ।
रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा भएको भेटवार्तामा इरान युद्ध अन्त्य र होर्मुज जलडमरूमध्यको आवागमन सामान्य बनाउने विषयमा छलफल भएको थियो । तर त्यसको स्पष्ट कार्ययोजना भने सार्वजनिक गरिएको छैन ।

इरानले अमेरिकासँग कुनै पनि प्रकारको आत्मसमर्पण वा एकतर्फी सम्झौता सम्भव नभएको बताएको छ । साथै, होर्मुज जलडमरूमध्यको मुद्दामा अमेरिकालाई सहयोग गर्ने देशमाथि समेत आक्रमण हुन सक्ने चेतावनी दिएको उल्लेख गरिएको छ ।
समाचारअनुसार अमेरिका अर्को साता इरानमाथि थप हमला गर्ने तयारीमा रहेको र पेन्टागन राष्ट्रपति ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षामा रहेको बताइएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आवश्यक परे सैन्य कारबाही अघि बढाउन तयार रहेको बताएका छन् ।
यता चीन र रुस भने इरानमाथि पुनः हमला गर्नु गलत हुने पक्षमा देखिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् भने चीनले पनि स्थायी शान्तिको माध्यमबाट समाधान खोज्नुपर्ने धारणा राखेको छ ।

इरानी संसदका सभामुख बाघेर गालिबाफले अहिलेको विश्व पुरानो शक्ति संरचनाबाट नयाँ विश्व व्यवस्थातर्फ अघि बढिरहेको बताएका छन् । उनले पश्चिमी शक्तिको प्रभाव कमजोर हुँदै गएको र ‘ग्लोबल साउथ’ को प्रभाव बढिरहेको दाबी गरेका छन् ।
विश्लेषणमा अमेरिका विश्वशक्ति भए पनि पछिल्ला युद्धहरूमा अपेक्षित सफलता हासिल गर्न नसकेको, जबकि चीन आर्थिक तथा कूटनीतिक रूपमा शक्तिशाली बन्दै गएको उल्लेख गरिएको छ । इरानले अमेरिकी तथा इजरायली आक्रमणको प्रतिरोध गरेपछि विश्व शक्ति सन्तुलन परिवर्तनको संकेत देखिएको दाबी पनि गरिएको छ ।